सबैको नजर नेयमर र लुकाकुमा : को बन्ला त यस विश्वकपका सबैभन्दा ठूला स्टार ?

हाम्रो सन्देश संवाददाता

मस्को, २२ असार ।

ब्राजिली स्टार नेयमरले चोटमुक्त हँुदै मैदानमा तीन महिनापछि फर्कंदा क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेलमा सानदार गोल गरेका थिए ।

त्यो गोल र उनको पुनरागमन वास्तवमै दमदार थियो । त्यसैले उनी विश्वकपमा सबैभन्दा ठूला स्टार बन्नसक्ने अनुमान गरिएको थियो । तर उनको प्रदर्शन चित्तबुझ्दो छैन ।

त्यसैले विश्वकपमा ४ गोल गरिसकेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र नेयमरबीच कजानमा शुक्रबार हुने क्वाटरफाइनल भेट एकखाले प्रतिस्पर्धा पनि हुनेछ ।

पहिलो चरणमा संघर्ष गर्नुपरे पनि ब्राजिल समूह विजेता भएर नकआउट चरणमा प्रवेश गरेको थियो । उसले मेक्सिकोलाई अन्तिम १६ मा पराजित गर्न पनि धेरै मिहिनेत गर्नुपरेको थिएन ।

यसबीच अहिलेसम्मका पाँच खेलमा नेयमरको प्रदर्शन उनको क्षमताअनुसार देखिएको छैन । उनको ध्यान खेलेरै जित्नेभन्दा पनि बढी नै कलाकारिताजस्तो देखिएको छ । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

त्यसैले बेल्जियमविरुद्ध उनको ध्यान आफ्नो कौशल प्रदर्शन गर्नेमै भयो भने त्यसले ब्राजिललाई पक्कै पनि फाइदा गर्नेछ ।

ब्राजिल विश्व फुटबलको महारथी हो । उसलाई सधैं विश्वकपमा उपाधि दाबेदार मानिन्छ र यसपालिको अवस्था पनि त्यस्तै छ । सर्वाधिक पाँचपल्ट विश्वकपको ट्रफी कब्जा गरेको ब्राजिलले २१ औं संस्करणमा सेमिफाइनल प्रवेशका लागि शुक्रबार कजानमा बेल्जियमविरुद्ध खेल्दै छ ।

बेल्जियमसँग ब्राजिलको जस्तो सफलताको इतिहास छैन तर उसको यसपालिको टिम स्टार खेलाडीले भरिएको छ । गोलकिपर थिबाउट कोर्टियस, विंगर केभिन डी ब्रुयन, फरवार्ड रोमेलु लुकाकु बेल्जियन सुपरस्टार नै हुन् ।

इतिहासले पनि खेलाडीमा मनोवैज्ञानिक प्रभाव पार्छ नै तर बेल्जियमका खेलाडीले क्लब फुटबलमा गरेजस्तै प्रदर्शनलाई राष्ट्रिय टिमबाट कजानमा पनि उतार्ने हो भने ब्राजिललाई क्वाटरफाइनल पार गर्न सजिलो हुने छैन ।

यस विश्वकपबाट २४ टिम घर फर्किसकेका छन् । १५ जुलाईमा मस्कोमा हुने २१ औं संस्करणको फाइनल पुग्ने होडमा आठ टिम छन् ।

त्यसमध्ये समूह विजेता रहेका ६ टिम (उरुग्वे, फ्रान्स, ब्राजिल, बेल्जियम, क्रोएसिया र स्वीडेन) को चुनौती कायमै छ । समूहमा उपविजेता भएका इंग्ल्यान्ड र आयोजक रुसले मात्र क्वाटरफाइनल यात्रा तय गरेका छन् ।

क्वाटरफाइनलमा शुक्रबार ब्राजिल र बेल्जियम कजान एरिनामा भिड्दै छन् । यसै दिन सन् १९९८ को च्याम्पियन फ्रान्सले दुईपल्टको विजेता उरुग्वे निज्नी नोभ्गोरोडमा प्रतिस्पर्धा गर्दैछ ।