तीनजनाले पालैपालो करणी गरिसकेपछि ‘चौथोले करणी गर्दै गर्दा उनले प्राण त्यागिन्’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ असार ।

कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो ।असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीनदिनपछि मृत फेला पारिएको हो ।

तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ, प्रहरी उपरीक्षक घिमिरेले भन्नुभयोे – “घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।
दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ ।