हेर त सरकार: डा.केसीलाई पागल घोषणा गरियोस !

हाम्रो सन्देश संवाददाता

बिजय ज्ञवाली –

सरकार, आजैका मितिदेखि लागू हुनेगरि डा.केसीलाई पागल घोषणा गरियोस। एकपटक होईन, दूईपटक होईन, १५/१५ पटकसम्म नाथे त्यो अनसन बसेर अधिनायकवादतर्फ उन्मुख हुनखोज्ने त्यो अविवाहित केसीलाई आजैदेखि पागल घोषणा गर्नुपर्यो सरकार !

हेर त सरकार, अधिनायकवादी र तानाशाही बन्नुको पनि हद हुन्छ नि, १५/१५ पटकसम्म पनि यसरि ध्वाँसो देखाऊने हो त? सरकार, अनसनको ध्वाँसो देखाऊँदै आफ्नै ज्यान फाल्न खोज्ने डा. के.सी. लाई आत्महत्या गर्न खोजेको अभियोगमा पक्राऊ गर, पागल घोषणा गरिदेऊ अनि पाटन अस्पतालमा लगेर भर्ना गरिदिदेऊ।

डा. केसीलाई मात्र किन गंगामाया अधिकारीलाई पनि पागल घोषणा गरिदिई पाटन अस्पताल लगि संयुक्तरुपमा ईलाज गराऊ सरकार। पागल हुनुको पनि हद हुन्छ नि हगि सरकार?

डा.केसी किनपनि पागल हुन भने सरकार उनी आफै माहात्मा गान्धी बन्न खोजे, सत्यको बाटो अंगाले र सत्याग्रह गर्न पुगे। सरकार केसीलाई सके गोली नै ठोकिदेऊ, कमसेकम तिम्रो टाऊको बारम्वार बोझिलो त बन्दैन। भारतमा पनि त माहात्मा गान्धी सत्याग्रह गर्दागर्दै तानाशाह, अधिनायकवादी बन्न खोजे त नाथुराम गोड्सेलाई प्रयोग गरेर उनिमाथी गोली दागियो। त्यसै गरि डा. केसीलाई पनि गोलि दागिदेऊ सरकार, डा.केसी र गंगामाया अधिकारीलाई अस्पतालमा होईन, तिम्रो पानीजहाज पार्किङ्ग गर्नमिल्नेगरि हिलाम्य भएको खुलामञ्चमा अनसन बस्न भन, विर अस्पतालमा अनसन बस्न निषेध भनेर उर्दी जारी गर।

किनकि अस्पतालमा अनसन बस्दा उनले बेलाबखत स्लाईन पानी र औषधोउपचार पाएकी छिन, यस्ता तानाशाह र अधिनायकवादीहरु धेरै रहनै हुन्न सरकार, छिटो अनसन सकिने व्यवस्था मिलाऊ सरकार ! राणा र राजासंग कुस्ती खेलेर किस्तिमा ल्याएको प्रजातन्त्र अनि गणतन्त्रमा पनि त्यो जावो नाथे सत्याग्रहको ध्वाँस त्यहिं पनि झण्डै झण्डै दूई तिहाई बहुमत प्राप्त अजंगको कम्यूनिष्ट सरकारलाई? धैत सरकार, अव यस्ता सत्याग्रहको नाममा तानाशाह र अधिनायकवाद यो सरकारलाई सह्य हुँदैन, कति सहनु र हो? लिएर आऊ खुलामन्चमा र दागिदेऊ गोली यस्ता अधिनाकवादहरुलाई।

डा. केसी किनपनि पागल हुन भने नि सरकार उनले आन्दोलननको नाममा अराजक झुण्ड उतारेनन, सडकका रेलिङ्ग भांचेनन, ढुंगामुढा, टायर, तोडफोड, हत्या, जिन्दावाद र मूर्दावादको उत्तेजित नारा लगाएनन, गाडिका सिसा फुटाएनन, कसैलाई अपहरण गरेनन, चन्दा असूल गरेनन, जवर्जस्ती स्कूले बालबालिका आन्दोलनमा प्रयोग गरेनन, स्कूल, कलेज, अस्पताल, सरकारी एवं सामाजिक संरचनामाथी आक्रमण गरेनन।

बन्द, हड्ताल गरेनन, कसैलाई कालो मोसो दलेनन, बरु वारम्वार मुढो पल्टिएझैं गरेर तमासा देखाऊने केसी ले उल्टै बामपन्थी रातो सरकारको अनुहार नै कालो बनाऊन उद्धत रहने यस्ता नाथे केसीहरु तानाशाह हुन, अधिनायकवादी हुन, त्यसैले सरकार डा. केसीलाई यथासक्य छिटो पागल घोषणा गरियोस। बलात्कार, हत्या, हिंसा, अराजक, असुली, फिरौती, तोडफोड, भ्रष्टाचार, तस्करी, लूटपाट सवै ब्योहेरेर, भोगेर र देखेर यहाँसम्म आईपुगेको ईतिहासकै लोकतान्त्रिक कम्युनिस्ट रातो सरकारको नाकमा यौटा झिंगा आएर नाकै कालो पार्न खोज्ने? हैट हैन सरकार, यो त अति नै भो सरकार ! उठाऊ बन्दुक र ड्याम पारिदेऊ जावो नाथे झिंगालाई ! कत्ति न नाक नै दाऊ लगाऊन खोज्ने हगि सरकार?

हो सरकार, झिंगाको श्रापले डिंगा मर्दैन। साना दु:खले आर्ज्या विर्ता हो यो सत्ता? सत्ताको डाडुपन्यू आफ्नै हातमा भएको बेला अलिकति पन्यू दवाएर गाड्न पनि नपाऊने? डाडु चुर्लुम्म डुवाऊन नपाऊने? कस्तो देखिनसहेको हगि नाथे झिंगाहरुले? आन्दोलनको राप र तापले यहाँसम्म आईपुगेको रातो कम्युनिस्टलाई केटाकेटी खेलेझैं गरेर गर्ल्याम्म ओछ्यानमा पल्टेर सरकारलाई कुरीकुरी गर्ने? तानाशाहीको पनि हद हुन्छ नि, अधिनायकवादको पनि हद हुन्छ नि है सरकार?

सरकार, डा.केसीलाई पागल घोषणा गर्न म पुनश्च: जोडदार माग गर्दछु। किनकि डा.केसीले गरिवका छोराछोरीले पनि सहज र सर्वसूलभ रुपमै एमविविएस पढ्न पाऊनुपर्दछ भनेका छन, चिकित्सा शिक्षा क्षेत्रमा देखापरेको सिन्डिकेट, माफियागिरि, भ्रष्टाचार र विसंगतीहरु हट्नुपर्छ भनेका छन। गरिव र दूरदराजका नागरिकले पनि सहज एवं सर्वसूलभ रुपमै औषधोपचार गर्न पाऊनुपर्दछ भनेका छन।

मेरो गोरूको वाह्रै टक्का भनेझैं गरेर पनि कहिं हुन्छ र सरकार? एकोहोरो दशसूत्रीय माग तेर्स्याएर सधै सरकारलाई तर्साईरहने? धैत यो त हुन्न यार सरकार ! यस्ता नाथे जनपक्षिय अराजक माग तेर्स्याएर सरकारको जुंगामा दाऊ लगाऊने?

चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण नभएसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनुहुंदैन, विगतदेखि सम्बन्धन लगायतका प्रकरणमा अनियमितता र भ्रष्ट गतिविधिमा संलग्न त्रिवि पदाधिकारीलाई पदच्युत गरेर कारबाही गर्नु पर्छ, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वन हुनु पर्छ, राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति निर्माणका लागि बनेको कार्यसमितिले रिपोर्ट बुझाउनासाथ यसलाई तत्काल कार्यान्वयन गर्नु पर्छ, सरकारसँग विगतमा भएको सहमति र मन्त्रिपरिषद्को निर्णय विपरीत काठमाडौँ विश्वविद्यालयले दिएको दुई वटा
मेडिकल कलेजको सम्बन्धन तत्काल रोकिनुका साथै यो प्रकरणमा संलग्न केयु पदाधिकारीहरूलाई
कारबाही गरिनु पर्दछ ।

सम्बन्धन प्रकरणमा आफ्नो अख्तियार दुरूपयोग गर्दै सम्बन्धनका लागि अवाञ्छित दबाब
दिएको आरोप लागेकाले यसको छानबिनसँगै दबाब दिइएको पाइए अख्तियारको प्रमुखमाथि कानुनी कारबाही
गरिनुका साथै पटक पटक राज्यले गरेको सम्झौता उल्लङ्घन गर्ने शिक्षा मन्त्रीमाथि पनि उचित कारवाही गर्नुपर्दछ,अनुगमनपछि सन्तोषजनक नपाइएको मेडिकल कलेजको सिट घटाइनुको सट्टा बढाउने गरिएकोमा यो प्रकरणमा संलग्न मेडिकल काउन्सिल, त्रिवि र केयुका पदाधिकारीहरूको छानबिन गरी गुणस्तरमा सम्झौता गरेको पाइए कारबाही हुनु पर्दछ, काउन्सिल र विश्वविद्यालयले लिने प्राविधिक निर्णयमा अदालतले बारम्बार अवाञ्छित हस्तक्षेप गर्दै गुणस्तर नपुगेका कलेजको सिट घटाउन नमिल्ने, प्रवेश परीक्षामा नबसेका, फेल भएका विद्यार्थीलाई पढाउन पाउने फैसला गरेर दण्डहीनताको अवस्था सिर्जना गरेकाले त्यस्ता फैसलाहरूबारे कानुन बमोजिम छानबिन गरेर कारबाही गरिनुपर्दछ।

त्रिवि, आइओएम, न्याम्स लगायत नेतृत्वदायी र नियामक संस्थामा दलीय वफादारीले नभएर वरिष्ठता र कार्यक्षमताको आधारमा नियुक्ति गरिएकाले दलीय वफादारीमा नियुक्त भएका नेपाल
मेडिकल काउन्सिलका अध्यक्ष लगायत पदाधिकारीहरूलाई तुरून्त बर्खास्त गरिनुपर्दछ, आम व्यक्तिको सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने जिम्मा राज्यको भएकाले यसका लागि दीर्घकालीन नीति लिएर कार्यान्वनय सुरू गरियोस, त्यस प्रयोजनका लागि चिकित्सा, नर्सिङ र प्यारामेडिकल कोर्समा
विद्यार्थीलाई निःशुल्क वा न्यूनतम शुल्कमा पढाउने व्यवस्थासँगै चिकित्साका स्नातकोत्तर र सोभन्दामाथि तहलाई तत्काल पूर्ण निःशुल्क गरिनुपर्दछ र ग्रामिण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने सम्झौता भएकोमा यसलाई तुरून्त कार्यान्वयन गरिनुपर्दछ भन्नेजस्ता जनपक्षिय अराजक मागहरु तेर्स्याएर बारम्वार मुढोझैं पल्टिने ब्याक्ति कहिल्ल्यै सज्जन हुन सक्तैन सरकार !

मौसुफ ! खासमा डा.केसी जति अराजक छन, तानाशाह छन, त्यत्ति नै उनले तेर्स्याएका मागहरु पनि त्यत्तिकै भतभती पोल्ने कोईलाखानीको रापजस्ता छन, तरपनि उनी शितल छन, शालीन छन । के यो पागलपनको लक्षण होईन र सरकार? हुँदाहुँदा जनता पनि पागल बन्न लागिसके सरकार ! खासगरि माथेमा प्रतिवेदन जस्ताको तस्तै कार्वान्यनमा डा. केसीको अडानलाई आम नागरिकले पनि प्रतिष्ठाको विषय बनाईआएका छन सरकार ! जनता पनि क्या भेंडा क्या हगि सरकार! नाथे यौटा पागलको पछाडि सवै हाम फाल्न तम्सिने भन्या !?

सरकार, हाम्रो पनि त पार्टि छ, मान्छे मान्छे मिलेर पार्टी बनेको हुन्छ, कुनै भेंडाबाख्राको वथान हो र पार्टि? फेरि भेंडाबाख्रालाई त खानुपर्दछ, सुत्नुपर्दछ भने मान्छेलाई त जिवनमा धेरै कुरा चाहिन्छ नि होईन र सरकार? पार्टि भन्दैमा जोगी भएर बस्न त सकिन्न नि? मान्छेजस्तै पार्टिलाई पनि त जिवन्त बनाईराख्न पर्दछ। हो, त्यो पार्टिलाई जिवन्त बनाईराख्न के को आवश्यकता पर्दछ त भन्दा पैसा, होईन र सरकार? फेरि पैसा कहाँबाट आऊँदछ? जनताले दान गरेर त पार्टि चल्न सक्तैन। पार्टिमा आवद्धले घरखेत बन्धकी राखेर मात्र पार्टि त चल्दैन। त्यसको लागी त ईलम पनि त गर्नुपर्यो नि, होईन र सरकार?

फेरि अपाङ्गताले मात्र त पार्टी चल्दैन क्यारे! पार्टि चलाऊन त होनहार डन, गुण्डा, तस्कर, भ्रष्ट, अपराधीक पृष्ठभूमी भएका, माफिया, सिन्डिकेटधारी लगायतका महान ब्याक्तिको आवश्यकता पर्दछ। अनि त्यस्ता दानविर, सूरविर ब्याक्तिको संगतले त पार्टि ऊँभो लाग्ला, देश ऊँभो लाग्ला? नाथे अनसन बसेर मात्रै देश ऊँभो लाग्छ र? अनि त्यस्ता पराक्रमीहरुलाई चौतारी नदिएर के शूलीमा चढाऊनु त? शूलीमा त डा.केसीलाई चढाईयोस सरकार ! शूलीमा ति तमाम नागरिकलाई पनि चढाईयोस सरकार जो यौटा पागलको पछि पछि पो कुंद्दै छन त !

यहाँ सु-शाषनको होईन, कु-शाषनको विजय हुनुपर्दछ सरकार! जनजिविकाको सवाल होईन भ्रष्ट, डन, माफिया, तस्करहरुकै जयजयकार हुनुपर्दछ सरकार ! दुर्गममा होईन, सुगममै व्यवसायिक खेती फष्टाऊन पाऊनुपर्दछ सरकार, हुँदाखानेले होईन, हुनेखानेहरुलाई सर्वसुलवरुपमा सवै सुविधा सहज उपलव्ध हुनुपर्दछ सरकार !

महाराजाधिराज !

यहाँ यौटा ववुरोको गनगन रहेछ, मौसुफ सरकारलाई सुन्ने कत्तिको फूर्सत छ कुन्नी? विचरा ववुरो वकवक गर्दै लेख्दछ: यौटै मुद्धालाई लिएर १५/१५ पटकसम्म सत्याग्रह गर्न बाध्य पारिने यो कस्तो लोकतान्त्रिक संस्कारयुक्त पद्धती हो हाम्रो नेपालमा? के लोकतन्त्रको सुन्दर रुप भनेको यहिं नै हो त? सत्याग्रह गर्नेले गरिरहन्छ, सत्ताको उन्मादले मत्त शाषकहरु बार्ता कमिटी गठन गर्दछन र मुसुक्क जुंगाको फेरो घुमाऊँदै बार्ताको स्वांङ्ग पार्दछन।

यता १५ औं पटकको सत्याग्रहरुपी महासंग्राममा यौटा जिऊँदो शरिर फेरिपनि ५औं दिनसम्म पनि मुढोझैं ढलेको ढल्यै छ, उता भने बार्ताको नाममा ति छ्द्नभेषीहरु बार्ताको बाहाना डा.केसीलाई पुनश्च: जिस्काऊन जाने तरखरमा छन भने यता तिनै वार्ताकार माफियाका महलहरुमा आत्मरति लिंदाहुन या विदेशी ब्राण्डका ह्विस्कि र कुखुराको लपेटासंगै अट्टहासको हाँसो हाँस्दाहुन।

सत्ता, शक्ति र पैसाको उन्मादले शाषकलाई यतिसम्म दृष्टिविहिन र क्रूर बनाईंदिदोरहेछ कि उसले आफ्नै पैताला दब्दै गरेको सम्म भेऊ पाऊँदोरहेनछ। यौटा लोकतान्त्रिक शाषनपद्धती स्थापना भएको देशमा न्याय, शु-शाषन र समानताको लागी यतिविघ्न संघर्ष गर्नुपरेको उदाहरण विश्वमा सायदै होलान।

बन्दुकको नालवाट राज्यसत्ता कब्जा गरि साम्यवाद ल्याऊने र गरिवका छोराछोरीलाई निशुल्क शिक्षा र स्वास्थ्यको अवसर सृजना गर्ने भनेर फैलाईएको महाझुठदाता तत्कालिन माओवादी र एमाले (जो एकीकरण भई नेकपा भैसकेका छन) जुन पार्टिका दूई सुप्रीमोमध्ये एकजना सत्ताको नेतृत्वमा छन भने अर्का एकिकृत शक्तिशाली पार्टिको नेतृत्वमा छन जसमध्ये दुवैजना यो देशको दूई /दूईपटकसम्म प्रधानमन्त्रीसम्म भए त्यहिं बन्दुकको त्रास देखाएर। हजारौं निर्दोष नागरिकलाई साम्यवाद र समाजवादका झुठा सपनाहरु फैलाएर, हजारौंका संख्याका ति कलिला बालबालिकाका हातमा बन्दुक थमाएका ए सुप्रीमो कमाण्डर खोई त निशुल्क अनि गुणस्तरीय शिक्षा अनि स्वास्थ्य? के हजारौंको संख्यामा बलिदानी तिम्रो अनि तिम्रो परिवारको लागीमात्र ऐयासी जिवनको लागीमात्र थियो त?

यता, जनताको बहुदलिय जनवाद्का प्रणेता क. मदन भण्डारीका चेलाहरुलाई हेरौं आज। पछिल्लो समय के.पी. ओली राष्ट्रिय राजनितिको शिखरविन्दुमा आईसकेपछि राष्ट्रियता र स्वाभिमानको डम्फे रोटि खुवै सेकिएको छ। मैपनि एमाले सैपनि एमाले, राष्ट्रियता र स्वाभिमानको डम्फो खुवै पिटिएकाले यसपालीको सवैखाले निर्वाचनमा आशलाग्दो नतिजा आएको थियो एमालेको पक्षमा। यसहिसावले नेकपा एमाले मुलुककै ठूलो पार्टिको रुपमा देखापर्यो। हाल आएर यि दूई ठूला घटक मिलेर बनेको नेकपा पार्टी बैंसको साँढेझैं आफै उन्मत्त भएर बसेको छ। सिंगौरी खेलेको छ।

राष्ट्रियता र स्वाभिमानको लडाईं लड्दै आएको यस पार्टी र यसलाई नेतृत्व गर्ने नेतृत्व भने जनजिविकाको सवालमा भने घोर चूप छ। जनताले सर्वसुलभ, छिटो, छरितो र भरपर्दो अनि गुणस्तरीय चिकित्सा शिक्षा अध्यन, परामर्श, उपचार तथा सेवा प्राप्त गर्नपाऊनुपर्ने लडाईंमा भने यसका नेतृत्ववर्गको अत्यासलाग्दो चुप्पीको कारण कहिं कतैवाट लुक्न सकेको छैन। आम नागरिकलाई थाहा छ कि माफियाले पार्टी चलाईराखेका छन या पार्टिद्वारा माफिया सलबलाईराखेका छन भनेर। दिनमा हजारौं आदर्शका खोक्रा गफ छाँट्नेले खोई त आम जनजिवनमा प्रत्यक्ष असर पार्ने गुणस्तरीय स्वास्थ्य र शिक्षासम्बन्धी दूईचार शव्द ओकल्न सकेको?

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद यि आकर्षक नारा र सिद्धान्त हुन बि.पी. कोईरालाका। नेपाली कांग्रेस यसै आदर्शलाई भजाऊँदै आजसम्म जेनतेन जिऊँदो छ, नत्र त `कवका मर गया होता´ कै हालतमा छ आज। प्रजातन्त्र प्राप्तीका लागी कहिले राणासंग त कहिले पंचायतसंग अनि राजासंग लड्दै आएको पार्टी आजका दिनसम्म आईपुग्दा तिनै माफियाहरुसंगको लडाईंमा निरिह छ।

आफ्नै गुट र उपगुटसंग परास्त छ, भ्रष्टाचारीकै कारण पार्टी बदनाम छ। शेरवहादुर देउवा आफै आफ्नो पार्टिको संरचना कस्तो छ भनेर हेक्का राख्ने सामर्थ्य राख्दैनन त बाँकी जनताको स्वास्थ्यसंग जोडिएको महत्वपूर्ण मुद्धामा कसरी जानकार हुनसक्तछन? उनलाई आफ्नै खुस्किन लागेको सुरुवालको वारेमा अत्तो छैन त बाँकी दुनियाँको बारेमा उनी कसरी जानकार हुनसक्तछन? आज बि.पी.का चेलाहरु राष्ट्रियता, प्रजातन्त्र र समाजवाद होईन गुटवन्दी, भ्रष्टाचार र सत्तालिप्साका लागीमात्र संघर्ष गरिरहेको आभाष हुन्छ।

र, असलमा नेपाली कांग्रेसको नियमित नियती यत्तिमा मात्र सिमित भैराखेको महसुस हुन्छ। तिनै तहको निर्वाचनमा लज्जास्पद हार बेहोरेर प्रतिपक्षमा बस्नुपरेको अघोर पिडामाझ हाल कांग्रेसलाई डा.केसी र गंगामायाको भने खुवै माया लागेर आएको छ। कांग्रेसको त्यो मायावी माया गोहिका आँशुभन्दा कम्ता भने छैनन। यो सवैले ऐनाझैं छर्लङ्ग बुझेको कुरा हो। त्यसैले आँखा खोल हो ए कांग्रेसीजन, कतै निद्रावाट बिऊझिंदासम्म न घर रहला न नै खरानी।

नन्दप्रसादले न्यायको याचना गर्दा गर्दै जीवन नै आहूती दिनुपर्यो। जसको शव अझैपनि अस्पतालकै बाकसमा रहिआएको छ। सदगत हुन सकेको छैन। यसविचमा धेरै सरकार परिवर्तन भए, धेरै ठूला र चर्का कुरा भए, धेरै न्यायसम्बन्धी वहस भए र धेरै नै शु-शाषनका कुरा भए। यहाँसम्म कि सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीले समेत यो देशको वागडोर सम्हाले। तर यो देशमा अराजकता ज्यूं का त्यूं रह्यो।

अब मेडिकल क्षेत्रमा व्यापक सुधार एवं स्वास्थ्य क्षेत्रमा जनताको सहज एवं सर्वसुलभ पहुंचको माग लिएर डा.गोविन्द के.सी. पन्ध्रौं पटकसम्म सत्याग्रह गरिरहेका छन, तर वर्तमान व्यवस्थाका शाषक भने टस का मस छैनन। यौटा लोकतान्त्रिक देशमा यौटा मान्छे यौटै माग लिएर १५/१५ पटकसम्म अनशन बस्नुपर्ने बाध्यता-यो कस्तो राजनैतिक एवं कानूनी निर्लज्जता हो ?

उता गंगामायाले सवथोक गुमाएर पनि आझै जिवित छिन, झिनो न्यायको आशमा र उसैगरि संघर्षरत छिन जिवन र मरणको दोसाँधमा। आफ्नो छोरा कृष्णप्रसाद अधिकारीलाई अनाहकमा हत्या गर्ने हत्यारालाई कारवाही गरिपाऊँ भनेर सत्याग्रह गर्दागर्दै नन्दप्रसाद अधिकारीलाई जिऊँदै स्वर्ग पुर्याएका यी सत्ताधारी पापीहरुले गंगामाया र डा.केसीलाई पनि नन्दप्रसादकै हालत नगराऊलान भनेर भन्न सकिन्न। हत्यारालाई चौतारो र सत्याग्राहीलाई शूली चढ्न बाध्य पार्ने ए सत्ताधारी मुर्कट्टाहरु हो, होस गर कुनैदिन तिम्रो महल पनि तासको महलझैं ढल्न के वेर?

होला, डा.के.सी.का सवै माग दुरुस्त पुरा गर्न पनि नसकिएला। तर, आम जनसरोकारसंग प्रत्यक्ष जोडिएर आऊने स्वास्थ्य क्षेत्रभित्रका विकृति, महंगी, र विचौलियालाई निरुत्साहित गरि सर्वसुलभ एवं सस्तोमा चिकित्सा शिक्षा अध्ययन एवं यसैतवर स्वास्थ्यप्राप्तीको आम नागरिकको अधिकारलाई ससक्त स्थापित गर्न नसकिने हो र? अवश्य होईन, यतिसम्म सरकार र प्रमूख राजनैतिक दलहरुले आफ्नो धर्म नछोड्ने हो सहजै पुरा गर्न सकिन्छ। हामी सवैले बेहोर्नुपरेकै कुरा हो कि नेपालमा स्वास्थ्य सेवा लिन कति कठिन, महंगो र झन्झटिलो छ भनेर। कमसेकम सरकारले यि र यस्तै सहज मागहरु त पुरा गर्न सक्छ नि ।

तर, नियतै खराव भएपछि र माफियाको चंगुलमा नेतृत्व परिसकेपछि आम नागरिकलाई गाह्रो पर्दोरहेछ। नेपालको माफिया र सिन्डिकेटगिरि तोड्नै नसकिने होईन, तर त्यसको लागी नेतृत्वतहमा ईमान नियत साफ हुनुपर्दछ। कुनियत राखेर नेतृत्वतहमा उक्लिएका छन र त डा. गोबिन्द केसीको अनसनलाई लिएर विगतदेखि लिएर आजसम्मका सरकार वदनाम हुंदै आईरहेका छन।हरेक सरकार केसीको मागलाई गलत भन्न सक्ने अवस्थामा पनि छैन, तर दबाव थेग्‍न नसकेर माग पुरा गर्ने सम्झौता गर्छ। चिकित्सा क्षेत्रको अवस्था र केसीको माग बारे अध्ययन गर्न केदार भक्त माथेमाको नेतृत्वमा आयोग पनि बन्यो।

आयोगले रिपोर्ट पनि बुझायो। सरकारले माथेमा आयोगको सुझावलाई लागू गर्ने वाचा पनि गर्‍यो, तर कार्वान्ययनको तहसम्म कहिल्ल्यै जान मानेन या सकेन अथवा चाहेन। यहिवाट पुष्टि हुन्छ यिनिहरुको नियत के हो र बाध्यता के हो भनेर।

वास्तवमा निचोड के हो भने, डा.केसीको माग चिकित्सा शिक्षा पैसाले किन्न सक्ने हुनु भएन भन्ने हो। क्षमतावानले पढ्न पाउनु पर्छ। यसको लागि जिम्मा सरकारले लिनु पर्छ भन्ने हो। केसीको अर्को माग मेडिकल कलेजहरू राजधानीमा मात्र केन्द्रीत हुनुभएन भन्ने पनि छ।

यति सहज र सरल माग पनि सरकारले पुरा गर्न नसकी मूकदर्शक बनेर बस्नु निरिहता र निर्लज्जताको पराकाष्ठा हो।

जहाँसम्म निजि क्षेत्रको कुरा छ, सरकारले आफूले नसक्ने काम निजि क्षेत्रलाई सुम्पिनुपर्दछ। निजि क्षेत्रलाई पनि मेडिकल शिक्षामा प्रोत्साहन त दिनुपर्दछ, तर, त्यसको लागी अनिवार्य शर्त माफियागीरीमुक्त निजिक्षेत्र हुनुपर्दछ। स्वस्थ प्रतिस्पर्धाद्वारा सस्तो, गुणस्तरिय र सर्वसुलभ चिकित्सा शिक्षा तथा स्वास्थ्य सरकार या निजिक्षेत्र दुवैका लागी अनिवार्य शर्त हुनुपर्दछ। अझै अर्को विकल्पका रुपमा सरकार र निजि क्षेत्रसंगको साझेदारीमा पनि संयुक्त कार्य गर्न सकिन्छ, जसले गर्दा माफियागीरीलाई निरुत्साहित गर्न सकियोस।

सरकार भन्छ, योग्य र क्षमतावान डाक्टरहरु बिदेशतिर पलायन हुनेक्रम बढ्दो छ। मेरो प्रतिक्रिया छ, महोदय यि योग्य र क्षमतावान डाक्टर तपाईँकै नजरमा असक्षम छन त बिदेश पलायन नभएर के गरुन त? असल शाषनको गोरेटो र आदर्शको मूलढोका नै तपाईहरु पहिल्यै बन्द गरिदिनुहुन्छ त बाँकी जमात के गरोस त?

राज्यका महत्वपूर्ण र जिम्मेवार पदमा आसिनहरुका सामान्य भन्दा सामान्य बिरामीको लागि यो देशका योग्य, क्षमतावान डाक्टर र अस्पतालहरु निकम्मा साबित हुन्छन भने यि उत्पादित दक्ष डाक्टरहरुको पनि त मनोवल खस्किएको हुन्छ।

असलशाषनको शुरुवात नै तपाईँ आफै बिगार्दै हुनुहुन्छ भने बाँकी गोरेटाहरु कसोरि सहज हुन सक्छ र? आजै देखि तपाईँ आफ्नो असल र जिम्मेवारपूर्ण ब्यबहार अबलम्बन गर्नुहोस त बाँकी जमातले कसोरि फ्लोअप गर्दैनन तपाईँको आदर्शलाई? त्यसकारण समस्या तपाईँमै छ र निराकरण पनि तपाईँसमक्ष नै छ। बस, मन हुनुपर्यो आजैदेखि शुसाषनको प्रारम्भ गर्नको लागि।

बढे महाराजाधिराज !

यो वकपत्र लेख्ने मनुवालाई पनि आजैका मितिदेखि लागू हुनेगरि पागल घोषणा गरियोस !