देउवाजी, अब जति पनि रुन पाइन्छ, रुनुहोस् !

हाम्रो सन्देश संवाददाता

देवप्रकाश त्रिपाठी

संसदीय निर्वाचन (२०७४ मङ्सिर) प्रचारप्रसारका क्रममा प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमै घोषणा गरे, ‘कम्युनिस्टले चुनाव जिते भने अधिनायकवावाद आउँछ, रुन पनि पाइँदैन ।’ जब कि अधिनायकवाद र कम्युनिस्टबारे देउवाको बुझाइ र व्यवहारमा तालमेल देखिँदैन ।

उनले यसो भनिरहँदा सत्तासाझेदार दलका रूपमा माओवादी थियो र, स्थानीय निर्वाचनमा माओवादीलाई मतदान गर्न आदेश दिँदै मत नदिने काङ्ग्रेस कार्यकर्तालाई कारबाहीको चेतावनी दिने यिनै देउवा थिए । २०५८ सालमा होलेरीबाट माओवादी नेताहरूलाई ‘उद्धार’ गर्ने, त्यसै वर्ष युद्धविराम गरी उनीहरूसँग संवाद शुरु गर्ने र दिउँसोको समयमा प्रहरी देख्दा भाग्ने माओवादीलाई चार महिना (युद्धविराम) भित्रै सैन्य व्यारेकमा पसेर हमला गर्न सक्ने (दाङमा) स्तरमा पुऱ्याइदिने पनि देउवा नै हुन् ।

प्रचण्ड नेतृत्वको माओवादीलाई माथि उठाउन सक्नेजति योगदान दिइसकेपछि आफ्नो प्रतिकूल भूमिकामा देखापर्नेबित्तिकै उनले कम्युनिस्टलाई अधिनायकवादी संज्ञा दिँदा त्यसलाई नेपाली जनताले गम्भीरतापूर्वक लिएनन्, बरु हास्यको विषय बनाइयो किनभने काङ्ग्रेस पार्टीभित्रै देउवाका सोच र व्यवहार प्रजातन्त्रभन्दा अधिनायकवादमैत्री रहेको सबैले छर्लङ्गै देखेका छन् । प्रजातान्त्रिक पार्टीको अप्रजातान्त्रिक नेताले अर्को पक्षमाथि अधिनायकवादीको विशेषण लगाउँदा सुन्ने–देख्नेहरूले नहाँस्नुपर्ने कारण पनि थिएन । तर, अहिले केपी ओलीको नेतृत्वमा कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार गठन भएयताचाहिँ धेरैले अधिनायकवादको खतरा देख्न थालेका छन् ।

वास्तवमा अधिनायकवाद के हो ?

अधिनायकवाद शब्द पहिलोपटक प्रयोगमा ल्याउने व्यक्ति इटालीका बेनिटो मुसोलिनी हुन् । उनले सन् १९२० मा त्यतबष्तिबचष्य शब्द प्रयोगमा ल्याउँदै त्यसको व्याख्या यसरी गरेका थिए– All within the state, None outside the state, None against the state. (सबै राज्यभित्र रहन्छन्, राज्यभन्दा बाहिर कोही हुँदैनन् र राज्यको विरुद्ध कोही रहने छैनन्) मुसोलिनीले इटालीमा समाजवाद र राष्ट्रिय समृद्धिका नाममा करिब साढे दुई दशक एकछत्र राज्य गरेका थिए र, संसारका आधा दर्जन खुँखार अधिनायकवादीमध्ये एक उनैलाई मानिन्छ । एडोल्फ हिटलर, जर्ज बर्बेल, माओत्सेतुङ र किम राजतन्त्र (उत्तर कोरिया) लाई पनि मुसोलिनीकै कोटिको अधिनायकवादीका रूपमा लिइन्छ ।

अलिक पुरानो इतिहासतर्फ फर्कंदा भारतको मौर्य राजतन्त्र र चीनको छिन राजतन्त्रलाई अधिनायकवादको नमुनाका रूपमा लिने गरिन्छ ।

कम्युनिस्ट या गैरकम्युनिस्ट जुनप्रकारको अधिनायकवादी भए पनि तिनमा पर्याप्त समानताहरू भेटिन्छन् । कुनै पनि अधिनायकवाद केन्द्रीकृत हुन्छ, अधिनायकवादमा एउटै वर्ग, समूह या एउटा मात्र पार्टी शासनमा रहन्छ, सैन्य शक्तिमाथि पूरा नियन्त्रण कायम गरिन्छ, अर्थतन्त्र पूरै कब्जामा लिइन्छ र सर्वसाधारण जनतालाई आतङ्कित तुल्याउन प्रहरीको प्रयोग अधिक मात्रमा हुने गर्दछ । अधिनायकवादले स्थापित राजनीतिक, कानुनी र सामाजिक परम्परालाई अस्वीकार गर्दछ । प्रचलित सामाजिक संस्था एवम् सामाजिक मूल्यमान्यतालाई पनि अधिनायकवादले सहँदैन । अधिनायकवादमा सत्ता र सम्पत्तिको मालिक तिनै हुन्छन् जो शासक भूमिकामा रहन्छन् या शासकका प्रिय पात्र बन्न सक्छन् । राजनीति र अर्थतन्त्रमाथि पूर्ण नियन्त्रण कायम गरेपछि मात्र शासन टिकाउ हुन सक्छ भन्ने तिनको ठम्याइ हुन्छ ।

मुसोलिनीको सूत्रअनुसार सबैलाई राज्यको नियन्त्रणमा ल्याउने र राज्यचाहिँ आफ्नो नियन्त्रणमा राखिने अवस्था नै अधिनायकवाद हो । अधिनायकवादमा व्यक्तिलाई अधिकारविहीन बनाइन्छ, बहुलवादी अवधारणालाई निर्मूल पारिन्छ । लोक समर्थन पाउन सस्ता निर्णयहरू लिने र लोक समर्थनको आडमा परम्परागत सामाजिक मूल्यमान्यता, प्रजातान्त्रिक परम्परा, विधि र विधानको उपेक्षा गर्दै आफ्नो मनोकाङ्क्षाअनुरूप अघि बढ्दै जाने चरित्र अधिनायकवादको हुन्छ ।

मुसोलिनीको सूत्रअनुसार सबैलाई राज्यको नियन्त्रणमा ल्याउने र राज्यचाहिँ आफ्नो नियन्त्रणमा राखिने अवस्था नै अधिनायकवाद हो । अधिनायकवादमा व्यक्तिलाई अधिकारविहीन बनाइन्छ, बहुलवादी अवधारणालाई निर्मूल पारिन्छ । लोक समर्थन पाउन सस्ता निर्णयहरू लिने र लोक समर्थनको आडमा परम्परागत सामाजिक मूल्यमान्यता, प्रजातान्त्रिक परम्परा, विधि र विधानको उपेक्षा गर्दै आफ्नो मनोकाङ्क्षाअनुरूप अघि बढ्दै जाने चरित्र अधिनायकवादको हुन्छ । काबुमा नआउने व्यक्ति, समूह या समुदायलाई राष्ट्रिय सुरक्षामा आँच पुऱ्याएको, राष्ट्रिय समृद्धि प्राप्तिको मार्गमा अड्चन पैदा गरेको या विदेशी तत्वबाट परिचालित भएको जस्ता आरोप लगाउने र सताउने कार्य पनि अधिनायकवादीहरूबाट हुन्छ । आफूलाई नेटेरेकै कारण हिटलरले जुजहरूलाई निसाना बनाएका थिए भने स्टालिनले कुलक्स (धनी किसान) हरूप्रति अमानवीय र अस्वाभाविक व्यवहार गरेका थिए ।

त्यस्तै, जिम्बाबेका अधिनायकवादी शासक रोबर्ट मुगावेले गोराहरूलाई निसाना बनाउँदै तिनको स्वामित्वका जमिन, कृषि फार्महरू कब्जा गर्ने अभियान चलाएका थिए । धनाढ्य काला तथा गोराहरूले मुगावेको अधिनायकवादी शासन सहन नसकेर भाग्न थालेपछि त्यहाँ अर्थतन्त्र ओरालो लागेको हो, जुन तत्काल पुनस्र्थापित हुने सम्भावना देखिएको छैन । अधिनायकवादीहरू समाजमा त्रासको वातावरण बनाइराख्न प्रहरीको अधिक प्रयोग–उपयोग गर्ने गर्दछन् । ‘पुलिस स्टेट’मा पनि पुलिस परिचालित हुन्छन् र प्रहरीले एकप्रकारको आतङ्क सिर्जना गर्ने गर्दछन्, तथापि तिनले नियमकानुनको ‘फलो’ गर्ने गरेका हुन्छन् । तर, अधिनायकवादमा नियम–कानुनमुताबिक नभई शासकको सनकअनुसार प्रहरी परिचालन हुने गर्दछन् ।

अधिनायकवादीहरू संविधान र कानुनअनुसार चल्नुलाई आफ्नो अपमान ठान्दछन्, त्यसैले इच्छाअनुसार कानुन र संविधान परिवर्तन गर्ने अधिकार आफूमा निहित गर्ने गर्दछन् । जर्मन शासक हिटलरले सन् १९३३ मा संविधान संशोधन गर्ने/गराउने अधिकार आफूमा निहित गर्न कानुन पारित गराएका थिए भने स्टालिनले सन् १९३६ मा आफ्नो मर्जीको संविधान जारी गरेका थिए । नेपालमा पनि शासकहरूको इच्छाअनुरूप संविधान निर्माण गर्ने, जारी हुने र संशोधन गरिने क्रमले निरन्तरता पाउँदै आएको छ । कुनै समय राजा–महाराजाहरूले आफूअनुकूल संविधान निर्माण या संशोधन गराउने गर्दथे भने २०६३ को परिवर्तनपछि केही खास दलका खासखास नेताहरूको स्वेच्छाले संविधान निर्माण र संशोधन हुँदै आएका छन् । कम्युनिस्ट पार्टीको बलियो सरकार गठन भएलगत्तै उक्त पार्टीका जिम्मेवार नेताहरूले संविधान संशोधन र राष्ट्रपतीय प्रणालीको पक्षमा जनमत बनाउने कोसिस गर्दै आएका छन् ।

अधिनायकवादमा कूटनीतिक व्यवहार पनि स्थापित मूल्यमान्यता र परम्पराभन्दा भिन्न किसिमले गरिन्छ । परम्परा, राष्ट्रिय आवश्यकता र कूटनीतिक प्रक्रियालाई उपेक्षा गर्दै शासकको स्वार्थ र इच्छाअनुरूप सन्धिसम्झौता गर्ने चरित्र अधिनायकवादी शासन सत्ताको हुने गर्दछ । देशको नभई आफ्नो आवश्यकतालाई केन्द्रमा राखेर कूटनीतिक व्यवहार गरिने हुँदा कालान्तरमा देशले असहज अवस्थाको सामना गर्नुपर्ने हुन्छ ।

अधिनायकवादीहरू देशभित्र आफ्ना चुनौती बन्न सक्नेहरूको निर्मूलीकरणपछि आफ्नै पार्टी या समूहभित्र सम्भावित खतराहरू पन्छाउन यत्नशील रहन्छन् । स्टालिनको समयमा त्रोत्स्कीलाई जसरी सताइयो र हत्यासम्म गराइयो, त्यसैगरी माओले पनि लिन पियाओ र ली साओ चीदेखि देङ सियाओ पिङसम्मलाई त्यसैगरी सताएका हुन् । स्टालिनले विरोधी नास गर्ने अभियानमा हत्या गरिएका करिब दुई करोड नागरिकमध्ये करिब पन्चान्नब्बे हजार त उनको आफ्नै पार्टीमा आबद्ध नेता–कार्यकर्ता भएको विभिन्न दस्तावेजले देखाएको छ । माओले क्रान्ति र सांस्कृतिक क्रान्तिका नाममा ‘सफाया गरेका’ झन्डै छ करोड चिनियाँ नागरिकमध्ये कति कम्युनिस्ट पार्टीकै नेता–कार्यकर्ता थिए भन्ने विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

देशको शासन, राजनीति, अर्थतन्त्र, सेना, प्रहरीसहित राज्य संयन्त्र र सामाजिक व्यवस्थालाई आफ्नो काबुमा लिने, कूटनीतिक सम्बन्धसमेत देशको हितका लागि नभई आफूलाई केन्द्रबिन्दुमा राखेर कायम गर्नेजस्ता कार्य नेपालमा कहिले क–कसबाट भएका छन् त्यसको पुनरावलोकन गर्न देशको वर्तमान पुस्ता सक्षम रहेको विश्वास गरिन्छ । अधिनायकवादमा शक्तिशाली र धनी बन्ने अधिकार शासक, तिनका आाफन्त तथा नातेदार र निकटतम मित्रहरूलाई मात्र हुने गर्दछ भन्ने बुझियो भने अधिनायकवादबारे धेरै जानकारी पाउन सकिन्छ ।

के नेपालमा अधिनायकवाद सम्भव छ ?

नेपालमा २०६३ को परिवर्तनपछि रातारात धनी बनेर देखापरेका व्यक्तिहरूबारे अनुसन्धान गरियो भने तिनको नशा कुनै न कुनै शासकसँग गाँसिएको तथ्यफेला पर्दछ । पुस्तौँपुस्तादेखि व्यापारिक एवम् व्यावसायिक कार्यमा समर्पित व्यक्ति, परिवार र समुदाय ओझेल पर्दै जानु र पीसी सरकारको जादुगरी शैलीमा रातारात धनाढ्यहरू सृष्टि हुनुले यहाँ लोकतन्त्रको आवरणमा हुँर्कंदै गरेको अधिनायकवादको सङ्केत गरेको छ ।

केपी शर्मा ओलीको पृष्ठभूमि, सोच, व्यवहार र चरित्र जे–जस्तो भए पनि उनी अधिनायकवादी शासन स्थापित गर्ने सुविधामा छैनन् । पछिल्ला केही वर्षहरूमा अकल्पनीय ढङ्गले कदमकदममा सफलता प्राप्त हुँदै जाँदा उनमा अहंकार र उन्माद चढेको महसुस गर्न सकिन्छ । केपीका कार्यशैली र व्यवहार ठ्याक्कै अधिनायकवादी शासकहरूकै जस्तो देखिन पनि सक्छ, तर उनी आफैँ अधिनायकवादी शासक बन्न पाउने अवस्थामा विभिन्न कारणले छैनन् ।

हाल प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको पृष्ठभूमि, सोच, व्यवहार र चरित्र जे–जस्तो भए पनि उनी अधिनायकवादी शासन स्थापित गर्ने सुविधामा छैनन् । पछिल्ला केही वर्षहरूमा अकल्पनीय ढङ्गले कदमकदममा सफलता प्राप्त हुँदै जाँदा उनमा अहंकार र उन्माद चढेको महसुस गर्न सकिन्छ । केपीका कार्यशैली र व्यवहार ठ्याक्कै अधिनायकवादी शासकहरूकै जस्तो देखिन पनि सक्छ, तर उनी आफैँ अधिनायकवादी शासक बन्न पाउने अवस्थामा विभिन्न कारणले छैनन् । त्यसको सबैभन्दा पहिलो कारण उनी अर्को पक्षसँग सम्झौता गरेर पूरा पाँच वर्षमध्ये आधा कार्यकालका निमित्त मात्र प्रधानमन्त्री बनेका छन् ।

दोस्रो, केपीको स्वास्थ्यस्थितिले लामो समयसम्म शासक भूमिकामा रहने सुविधा दिएको छैन र तेस्रो, उनी खुँखार शासकभन्दा एउटा देशभक्त, दूरदर्शी र इमानदार नेताका रूपमा चिरकालसम्म स्मृत भइरहने आकाङ्क्षाबाट प्रेरित देखिएका छन् । त्यसैले केपी ओली नै अधिनायकवादी शासक बन्ने शङ्का या त्रास नेपालीले नराखेकै उचित होला । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागजस्ता निकायहरू सीधै आफूअन्तर्गत राख्नु, ठेकेदार र म्यानपावर व्यवसायीलगायतलाई तह लगाउने नाममा कानुनको भन्दा प्रहरीको सहयोग लिन अग्रसर रहनु र विरोध प्रदर्शन गर्ने स्थान निर्धारण गरेर विरोधी आवाजलाई निरुत्साहित गर्नुजस्ता कार्यलाई अधिनायकवादसम्मत भन्न सकिन्छ । र, केपीले चालेका कदमहरूकै जगमा उभिएर भविष्यमा उनको दल नेपाल कम्युनिस्ट पार्टीभित्रैबाट अधिनायकवादीको उत्पत्ति नहोला भन्नचाहिँ सकिँदैन ।

आफ्नो राजनीतिक तथा आर्थिक महत्वाकाङ्क्षा पूर्ति गर्न विदेशी र आपराधिक समूहसँग समेत सम्झौता र सहकार्य गरिसकेका र फेरि पनि गर्न तयार व्यक्ति केपीको निकट उत्तराधिकारी बनेर बसिसकेका हुनाले अधिनायकवादी शासनको खतरा नेपालमा छैन भन्न मिल्ने स्थिति रहेन । एकदलीय तानाशाही (One Party Dectatorship) व्यवस्थालाई संसारमा सबैभन्दा खतरनाक अधिनायकवादी शासन मानिन्छ । मुसोलिनी, हिटलर, मार्कोस, रबर्ट मुगावे, माओत्से तुङ र किम राजतन्त्र (उत्तरकोरिया) जस्ता खतरनाक अधिनायकवादीहरू एकदलीय तानाशाही व्यवस्थाकै जगमा पैदा भएका हुन् ।

एकदलीय अधिनायकवादको आयु अन्य प्रकारका अधिनायकवादी शासनको तुलनामा लामो हुने गरेको र विगतमा लाखौँ, करोडौँ मानिसले ज्यान पनि एकदलीय अधिनायकवादी व्यवस्थामा गुमाउनुपरेको हुनाले संसारमा एकदलीय अधिनायकवादलाई सबैभन्दा खतरनाक मानिएको हुनुपर्छ । वर्तमान विश्वमा रसियाका भाल्दिभिर पुटिन, चीनका सी जिन पिङ, सिरियाका बसर हाफेज अल असद, टर्कीका रेसेप तटपिप एर्दोगान र उत्तर कोरियाका किम जोङ उनलाई सबैभन्दा खतरनाक अधिनायकवादीका रूपमा लिइन्छ ।

उल्लिखित सबै अधिनायकवादीहरू राजनीतिक दलकै जगमा उत्पन्न भएका हुन् । पहिले चुनाव र त्यसपछि दश वर्षसम्म हिंसात्मक युद्ध लडेर पनि सिर्जना गर्न नसकेको साङ्गठनिक हैसियत प्रचण्डले नेपालमा यतिबेला बनाएका छन् । अधिनायकवादी अभियानको पहिलो अध्याय हिंसात्मक सङ्घर्ष थियो, दोस्रो अध्याय बाह्रबुँदे सम्झौतादेखि सङ्घीय, धर्मनिरपेक्ष गणतन्त्रात्मक संविधान जारी गराएर पूरा भएको हो ।

अधिनायकवादको तेस्रो अध्याय कम्युनिस्ट पार्टीहरू (एमाले–माओवादी) को एकताबाट प्रारम्भ भएको छ, यदि प्रचण्डको चाहना पूरा हुँदै जान सक्यो भने कम्युनिस्ट एकता नै नेपालमा एकदलीय अधिनायकवादको जग भएको प्रमाणित हुनेछ । प्रचण्ड अधिनायकवाद शुरु भएछ भने पनि गत संसदीय निर्वाचनभन्दा अघि शेरबहादुर देउवाले भनेजस्तो रुनै नपाइने भन्नेचाहिँ अब हुनेछैन । बरु खुसी रहन र हाँस्न मात्र नपाइने हुन सक्छ, चौबीसै घन्टा रोइरहन पाइन्छ, अब रोइरहने र रुँदारुदै जीवन जाने मानसिकता बनाउनुको अर्को कुनै विकल्प देउवादम्पतीसँग देखिएको पनि छैन ।

(लेखक त्रिपाठी घटना र विचार साप्ताहिकका प्रधान सम्पादक हुन् ।)