केपी ओलीलाई निकिता पौडेलको खुला पत्रः राजनीति गरेर ठूला पद पाउने हो भने विदेशमा पढेर किन फर्किने?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वले गरेको निर्णयलाई वर्तमान सरकारले खारेज गर्ने निर्णय गरेपछि चलचित्र वृत्तमा पनि तरंग सिर्जना भएको छ । सरकारी मातहतको चलचित्र विकास बोर्डमा केही समयअघि निकिता पौडेल बोर्ड अध्यक्ष नियुक्त भएकी थिइन् ।

अब उनको पद खारेज हुने भएपछि उनले प्रधानमन्त्री केपी ओलीलाई खुला पत्र लेखेकी छिन् । यस्तो छ उनले लेखेको खुला पत्रः

***

[प्रधानमन्त्री ज्यूलाई खुला पत्र]

सम्माननीय प्रधानमन्त्री ज्यू, राजनीति नै गरेर मात्र ठुला पद प्राप्त हुने हो भने विदेशमा गएर पढेर म जस्ता व्यक्तिहरु किन स्वदेश फर्किने? अध्ययन र कार्यक्षमता को मूल्याङकन नहुने र ठूला नियुक्ति जति राजनीतिक दलका मानिसहरुले मात्र पाउने हो भने पढेर सिकेर जानेर वा कमाएर स्वदेश किन फर्कीनू ? चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा मैले झण्डै ७ महिना काम गर्ने अवसर पाएँ । मेरो नियुक्तिलाई राजनीतिक भनिए पनि यसमा मेरो असहमति छ ।

म कहिल्यै पनि कुनै पनि राजनीतिक दलको समर्थक, विरोधी, नजिक, टाढा भइन । यो मैले कहिलै पनि नजानेको बिषय हो । हिजो म अध्यक्ष नियुक्त हुँदा तत्कालीन सत्तारुढ नेपाली कांग्रेसले पनि मेरो नियुक्तीको विरोध गरेको थियो, आज देउवा सरकारको नियुक्ती भनेर तपाइको सरकराले नियुक्ती वदर गर्‍यो । मजस्ता स्वतन्त्र व्यक्तिहरूले आफ्नो योग्यता र क्षमता देखाएर काम गर्नै नपाइने हो त ?

देशको मात्रै झण्डा बोकेर नपुग्ने ? कुनै न कुनै राजनीतिक दलको झण्डा नबोकी नहुने हो ? म चलचित्र बुझ्दै, हेर्दै र सिक्दै हुर्कीएकी हुँ । लाइट, क्यामेरा, एक्सन मैले गर्भमानै सुनेका शब्दहरु हुन् ।

यस अर्थमा चलचित्र क्षेत्र मेरो रगतमै बगेको छ । यसै क्षेत्रमा समर्पीत हुने उदेश्यले मैले अ‍ेमरीकि युनीभर्सीटी बाट यसै क्षेत्रको विषयमा स्नातकोत्तर गरे र मनभरी उमगं, जोश, जाँगर र सर्टिफिकेट बोकेर आफ्नै देशमा केही गर्छु भनी फर्किएँ । अठार वर्षको इतिहास बोकेको चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष ज्यूहरुले गर्नुभएको कार्यको मुल्याङकन गर्ने हैसियत त मेरो छैन तर विगत ७ बर्षदेखि यो वा त्यो बहानामा अड्केको र एक पाइला पनि नसरेको बक्स अफिस प्रणालीलाई म र मेरो टिमले ७ महिनामा लागु हुन तयार पारेका छौँ ।

यसो भनेर मैले कसैको विरोध गरेकी होइन बरु आफ्नो टिमको अहोरात्र खटाइ र अथक मेहनतको दिल खोलेर प्रंशसा गरेकी हुँ । यतिखेर जब बक्स अफिस लागु हुन केही दिन मात्र बाँकी छ यस्तो अन्तीम समयमा गरिएको नियुक्ति बदरले हाम्रो ७ महिनाको मेहनत पानीमा जाने प्रवल सम्भावना छ । म पछि नियुक्त हुने अध्यक्ष ज्यूको कार्य क्षमतामा प्रश्न गरेको होइन र यो क्षेत्रमा सबै भन्दा सक्षम नै मै हुँ भन्ने दाबी पनि गरेकी छैन । तर, केही महिना मैले काम गर्न पाएको भए म र मेरो टिमले सरकारलाई दिने उपलब्धीबाट साँच्चै नै तपाईंको सरकार र माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्यूले गर्व गर्न पाउनुहुन्थ्यो ।

मेरो कार्यक्षमता र मैले सरकारलाई बुझाएको भावि योजनाको मुक्तकण्ठले तारीफ गर्नुहुने माननिय सुचना तथा संचार प्रविधि मन्त्री ज्यु, र आदरणीय सचिव ज्युका स्यावासीहरु अझै पनि मेरो मानसपटलमा ताजा छन् । तर त्यो स्वाबासी र यो निर्णयको बिच कुनै तारतम्मे नमिलेकोमा दुखी मात्र भएकी हुँ । मैले बकाइदा जाँच दिएर, अन्तरर्वाता दिएर, खुल्ला प्रतिस्पर्धामा आँफुलाई सबै प्रतिस्पर्धी भन्दा सक्षम देखाएर प्राप्त गरेको नियुक्ति हो । राष्ट्रिय पत्रिकामा छपाएर माग गरिएका आवेदकहरुबाट चुनिएको व्यक्तिको नियुक्ति कसरी राजनीतिक नियुक्ति भयो त्यो मैले बुझ्न सकेकी छैन । यो पत्रमार्फत मैले आफ्नो पुर्नवहालीको याचना गरेकी होइन ।

म २१ औ सताब्दीकी सक्षम महिला हुँ । प्रधानमन्त्री ज्यु, यो देशको संविधानले दिएको हक अधिकार बुझेकी छु, कर्तव्य पालना गर्न जानेकी छु । जति समय मैले चलचित्र विकास बोर्डका लागि दिएँ, त्यति सामय आफ्नो व्यवसायमा दिएको भए मेरा लागि त्यो निकै फाइदाजनक हुने थियो । चलचित्र विकास बोर्डको अध्यक्षका हैसियतले निर्णयहरु गर्दा मैले आफ्नो व्यवसाय र आफ्नै परिवारका सदस्यहरुको समेत विपक्षमा उभिनु परेको छ । बक्स अफिसको शुरुवात आफ्नै हलबाट गरेकी हुँ । आफ्नै भाइले निमार्ण गर्दै गरेको चलचित्र ‘रोजी’ को सुटिङ आफै गएर रोकेकी छु र यस्ता अनगिन्ती दृष्टान्तहरु छन्, जसलाई प्रस्तुत गरिरहँदा आफ्नो बखान गर्न खोजेकी अर्थ समेत लाग्न सक्छ । मलाई सरकारी तलब, सुविधा, पद आदी कुनै कुराको पनि लोभ थिएन र छैन ।

खाली एउटा दुखेसो छ कि, म मात्र होइन विभिन्न देशका डिग्री लिएका धेरै होनहार जोशिला युवाहरु यहाँ छन्, जो आफ्नो देशमा केही गर्नु पर्छ भनेर लागि परेका छन् । के तिनले पनि उच्च ओहदाको सरकारी जागिर खान कुनै न कुनै राजनीतिक दल वा नेताको घर दैलो धाउनै पर्छ? चाकडी बजाउनै पर्छ? यदि कुनै पनि राजनीतिक दलको आर्शिवाद विना स्वतन्त्र नागरिक बनेर यो देशको सेवा गर्न पाइन्न भने तपाइको समृद्ध नेपाल सुखी नेपाली को नारा समृद्ध नेता सुखी कार्यकता मात्र बन्न पुग्ने छ । यो मेरो व्याङग्य होइन चिन्ता हो ।

आफ्नो ज्ञान र क्षमता देखाउने अवसर फेरी पनि मिल्ने छ भन्ने कुरामा म आशावादी छु । र म चलचित्र विकास बोर्डमा भए पनि नभएपनि मेरो नाभीसँगै गासीएको चलचित्र क्षेत्रको उत्थान, प्रर्वधन का लागि मेरो पुरै जीवन समर्पीत छ । नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने, नेपालको लोकेशनमा विश्वभरका सिनेमार्कीलाई सुटीङ गर्न आमन्त्रण गरी चलचित्र पर्यटनको विकास गर्ने, फिल्म सीटी निमार्ण गर्ने, पुराना चलचित्रलाई डिजिटाइज गरी भावी पस्ताका लागि संरक्षीत पार्ने, विशिष्ट योगदान दिएका पुराना चलचित्र साधकहरुलाई सम्मान गर्दै नयाँ जेनेरेशनका नवयुवक चलचित्रकर्मीहरुसँग हातेमालो गरेर नेपाली चलचित्रको सुन्दर भविष्य कोर्ने जस्ता कयौँ मेरा योजनामा ब्रेक लागेको छ ।

तर, चलचित्र विकास बोर्ड मेरो जागिर होइन सामाजिक जिम्मेवारी हो । योगदान दिन पद नै चाहिन्छ भन्ने केही पनि छैन र चलचित्र क्षेत्रलाई योगदान दिने मेरो यात्राको यो काष्टीङ मात्र हो, मध्यान्तर पनि हैन, दि इन्ड त हुँदै होइन ।