सन्दीप चम्किदा टाइगर्सको शान्दार जीत

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ असार ।

ग्लोबल टी-२० क्यानडाअन्तर्गत दोस्रो राउन्डको खेलमा सन्दीप लामिछानेको टोली मोन्ट्रियल टाइगर्सले वेस्ट इन्डिज ‘बी’ टोलीलाई ६ विकेटले पराजित गरेको छ । कसिलो बलिङ गरेको टाइगर्सले ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्दा जीत निकाल्न सफल भएको छ । खेल जितेपनि टाइगर्स यसअघिका कमजोर खेल प्रदर्शनका प्ले अफ नपुग्ने निश्चित भइसकेको छ । किङ्स सिटीस्थित माप्ले लिफ नर्थ वेस्ट मैदानमा भएको खेलमा टस जितेर टाइगर्सले पहिला बलिङ गर्ने निर्णय गर्यो जुन टाइगर्सका लागि फाइदजनक रह्यो । पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज ‘बी’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । वेस्ट इन्डिज ‘बी’ का ब्याट्सम्यान शामर स्प्रिन्जरले सर्वाधिक ६२ रन बनाए भने निकोलस पूरनले २५ तथा ब्रेण्डन किङ्सले २३ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा हार्ड हिटिङ टोलीको पहिचान बनाएको वेस्ट इन्डिज ‘बी’ ठुलो टार्गेट प्रस्तुत गर्नबाट चुक्यो । बलिङतर्फ टाइगर्सका सन्दीप लामिछानेले ३ विकेट लिदा उनले ४ ओभरमा ३१ खर्चेका थिए . सेसिल परवेजले २ विकेट लिए भने लसिथ मालिङ्गा र डिलोन हेइलिङ्गरले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गर्दै टाइगर्सले ४ विकेट गुमाएर १७ दशमलव ३ ओभरमै लक्ष्य भेट्टायो । टाइगर्सका लागि सुनिल नाराइनले सर्वाधिक ६१ रन बनाए । बिस्फोटक ब्याटिङ गरेका नाराइनले २५ बलमा ९ छक्का र १ चौकाको मद्दतले ६१ रन जोडेका थिए । त्यस्तै मोइसेस हेनरिक्सले ३२ रन बनाउदा सिकन्दर राजाले नट आउट ३२ बनाए । नजिबुल्लाह जडरानले ४ छक्काको मद्दतले १२ बलमा जोडेको नट आउट २९ रन टाइगर्सलाई खेल जिताउन पर्याप्त रह्यो । वेस्ट इन्डिज ‘बी’ का खरी पाइरले २ विकेट लिदा डर्वल ग्रीन तथा फाबियन एलेनले समाग १/१ विकेट लिए ।