२५ सय १९ जना प्रहरीको बढुवा गरेर आइजिपी खनालले १० वर्षसम्म हुन नसकेको काम ३ महिनामै देखाइदिए

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १५ साउन ।

नेपाल प्रहरीमा छोटो समयको अवधिमानै २५ सय १९ जना कर्मचारीको बढुवा भएको छ । यति सबै कर्मचारीको बढुवा साढे ३ महिनाको अवधिमा भएको बुझिएको छ । ७५ हजार ८ सय ४४ जनशक्ति रहेकोमा २५ सय १९ जना कर्मचारीको बढुवा भएको प्रहरीको कर्मचारी प्रशासन विभागले बताएको छ । बढुवा भएका मध्य डिआइजीमा १६ जना, एसएसपीमा २२ जना, एसपीमा २८ जना, इन्सपेक्टरमा ७३ जना, सईमा २६० जना, असईमा २९८, हवल्दारमा १७ सय ४२ जना परेको प्रशासन विभागले जनाएको छ । त्यसबाहेक प्राविधिकतर्फका डिआइजीमा २ जना, एसएसपीमा ४ जना, एसपीमा ५ जना डिएसपीमा १७ जना इन्सपेक्टरमा ६ जनाको बढुवा भएको हो।

सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि मात्रै २३ हजार ८ सय ८७ जनाको सरुवा तथा पदस्थापन भैसकेको तथ्याँक रहेको छ। साथै १२ सय ६२ जना नयाँ नियुक्ति भएको छ। प्रहरी श्रोतले बताएको अनुसार नयाँ नियुक्तिमा परेका मध्य इन्सपेक्टरमा १०९ जना, सइमा ३४ जना, असइमा ३३१ र जवान ७७७ रहेका छन्।

आइजिपी खनालले बताएअनुसार अहिले बढुवा भएका जनशक्तिमा धेरै समय देखि बढुवा नभएका कर्मचारीहरु परेको बताएका छन्। पछिल्लो १० वर्षदेखि प्राविधिकतर्फ सरुवा भएको थिएन। धेरै कर्मचारीहरुको सरुवा र बढुवा भएको भएता पनि डिआइजीहरु एआइजीमा बढुवा हुन सकेका छैनन् । अहिले गृहमन्त्रालयले ३ जनालाई एआइजीमा नियुक्त गर्ने तयारी गरिरहेको बुझिएको छ।