महंगीको विरुद्धमा, राजा हिन्दूको पक्षमा घन्कियो नारा राजधानीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, साउन १७ ।

सरकारको जनविरोधी, अधिनायकवादी रवैयाका कारण सरकारको जग हल्लिने चेतावनी राप्रपा (प्रजातान्त्रिक) नेतृत्वले सार्वजनिक गरेको छ ।

“हाम्रो विरोध महंगी, कर वृद्धी र सरकारको अधिनायकवादी चरित्रको विरुद्धमा हो । तर, सरकारको यस्तै रवैया जारी रहने हो भने सरकारको जग हल्लिन्छ,” राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले भने ।

“सरकारले नेपाली जनतालाई दुख मात्र दिएको छ । कष्ट र पिडा मात्र दिएको छ,” भन्दै राणाले भने, “म मोहन शमशेरको नाति, त्यसैले म भन्छु, वर्तमान सरकार श्री ३ को सरकार हो । अब त जन्मनु मात्र नभएर मर्न समेत सरकारलाई कर तिर्नु पर्ने व्यवस्था आयो । यो जनता माथिको अत्याचार हो ।”

माइतीघर मण्डलामा जनसभामा परिणत हुनुपूर्व राप्रपा (प्रजातान्त्रिक) ले मूल्य वृद्धि र अन्यायपूर्ण कर वृद्धिको विरोध गरेको थियो । सडक प्रदर्शनको क्रममा हिन्दु राष्ट्र, राजतन्त्रको पक्षमा समेत नाराबाजी गरेको थियो ।

राप्रपा (प्रजातान्त्रिक) संवद्र्धनवादी उदारवादको पक्षमा छ । संवद्र्धनवादी उदारवादको नाराभित्र पार्टीले संसदीय प्रजातन्त्र, राजसंस्था, धर्म, मानव अधिकार, नीजी सम्पति र राष्ट्रियताको वकालत गर्दै आएको छ ।

वरीष्ठ उपाध्यक्ष दिपक बोहराले ओली सरकारले विगतका सरकारले गरेका सबै जनपक्षीय निर्णय खारेज गरेकोमा आपत्ति जनाए । यसबाट सरकार प्रजातान्त्रिक पद्धति विरुद्ध क्रियाशील रहेको प्रमाणित भएको बताए । नेता बोहराले मुलुकमा परम्परागत संस्थाको आवश्यक खट्किएको बताए ।

नेता जगत गौचनले नेपालमा तेस्रो जनआन्दोलन हुनेछ भन्दै आन्दोलनकै माध्यमबाट परम्परागत शक्ति पूर्नस्थापित गर्ने दावी गरे ।

वरीष्ठ उपाध्यक्ष केशर बहादुर विष्टले सुन काण्डमा ठूलो माछा पक्रन असमर्थता देखाएकोमा सरकारको आलोचना गरे । “राजपरिवारका सदस्यहरु अस्वस्थ्य हुदा बीर अस्पतालमा उपचार गर्थे अहिलेका एक कठ्ठा सम्पति छ भन्ने कमनिष्टहरु उपचार गर्ने नाममा पानीमा डुब्न सिंगापुर जान्छन्,” विष्टले भने ।

सडक प्रदर्शनको क्रममा पार्टीले काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला इकाईहरुको व्यापक परीचालन गरेको थियो । युवा विद्यार्थी परीचालनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनशुर शाहीले अग्रणी भूमिका निर्वाह गरेका थिए ।