नेदरल्यान्ड्सबाटै सन्दीप क्यारेबियन प्रिमियर लिगको लागि प्रस्थान गरे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ साउन ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने नेदरल्यान्ड्सबाटै क्यारेवियन प्रिमियर लिग (सिपिएल)का लागि शनिबार वेष्टइन्डिजको एन्टिगुवा प्रस्थान गरेका छन् । नेपाली टोली भने सोमबार काठमाडौं फर्कनेछ ।

क्यारेबियन प्रिमियर लिग अगस्ट ८ देखि सेप्टेम्बर १६ सम्म आयोजना हुँदैछ । सन्दीपलाई सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले ६ महिनाअघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।

इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए ।

आईपीएल अक्सनमा २० हजार भारतीय रुपैया र क्यानाडा लिगमा ४० हजार डलरमा उनको भाउ लागेको थियो ।