श्रीमतीको हत्या गरी प्रहरीसमक्ष आत्मसमर्पण

हाम्रो सन्देश संवाददाता

बाँके, साउन २४ ।

नेपालगन्ज उपमहानगरपालिका-२३, जंगली सिंहपूर्वाका एक स्थानीयले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। श्रीमतीसँगै ससुराली गएका शेरअली शेषले उपचार गराउन लैजाने बहाना बनाएर बाटोमा पर्ने भारतीय जंगलमा श्रीमतीको घाँटी थिचेर हत्या गरेका हुन्।

श्रीमतीको हत्या गरेर प्रहरीसमक्ष बुधबार दिउँसो आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। शेषले श्रीमतीलाई नेपाल-भारत सीमामा पर्ने भारतीय अब्दुल्लाहगन्ज जंगलमा घाँटी थिचेर हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए।

करिब डेढ महिनाअघि विदेशबाट आएका शेषले श्रीमतीको आचरण सुधार्ने प्रयास गर्दासमेत नसकेपछि हत्या गरेको बयान दिएको उनले बताए। उनले दिएको बयान र सूचनाको आधारमा बाँके प्रहरीको टोली अनुसन्धानका लागि हिरमिनियास्थित भारतीय जंगलमा गएको छ।

भारतीय प्रहरीसँग समन्वय गरी मुचुल्का तयार पारेर शव नेपालगन्ज ल्याइने प्रहरीले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।