‘भाइरल भूत’ उत्रिएपछि के गर्लान् अशोक ?

हाम्रो सन्देश संवाददाता

कुसुम भट्टराई

अशोक दर्जी एउटा मान्छे हुन् । हरेक मान्छेले आफ्नो स्वाभाविक संघर्षको चरणबाट गुज्रिएर मात्र सफलता प्राप्त गर्छ । संघर्षको भट्टीबाट खारिएपछि उसले प्राप्त गर्ने सफलता नै दिगो र टिकाउ हुन्छ ।

अचेल देखिँदैछ, अशोक दर्जीका लागि कसैले घर बनाइदिएका छन्, कसैले विदेश घुमाइदिएका छन् र यही चकाचौंधमा अशोक भाइलाई उनको हुर्कदो उमेरसँगै गर्नुपर्ने साधना, संघर्ष र कठोर मेहनतबाट बञ्चित गरिँदैछ । एउटा मान्छेका रुपमा जन्मिएपछि उमेरका हरेक चरणमा गर्नुपर्ने संघर्षको नैसर्गिक रितबाट उनलाई अलग गरिँदैछ । यसबाट कुनै पनि मान्छे भित्रैदेखि स्पात झैं बलियो र संघर्षशील कसरी हुनसक्ला ?

म सम्झन्छु, जब म पहिलो पटक काठमाडौं आएको थिएँ, त्यो पुसको महिना थियो र मेरो ज्यानमा एउटा पातलो पोलिस्टरको लामबाहुले सर्ट मात्र थियो । भैरहवामा बाल्यकाल बिताएको मान्छे, काठमाडौंमा पहिलो पटक पाइला टेक्दा नै जाडोले झट्का दियो, त्यसयता यो शहरमा बाँच्नका लागि धेरै झट्काहरु सहनुप¥यो । म आजसम्म संघर्ष गर्दैछु र यो संघर्षको अनुभव नै मेरो असली पुँजी हो, जसले बाँकी जीवनमा आइपर्ने संकट र समस्यासँग जुझ्न मलाई आधार दिनेछ ।

प्रधानमन्त्री केपी ओली चौध वर्ष जेल बसेको कठोर अनुभवपछि नै आजको स्थानसम्म आइपुग्नु भएको हो र आज अरुको मृगौलाको भरमा बाँच्दा पनि उहाँ हाँसी हाँसी बाँचिरहनुभएको छ । यो शक्ति उहाँलाई जीवनका हरेक संघर्षले दिलाएको हो । यस्ता धेरै सफल मानिस छन्, जो संघर्षको लामो चरणबाट गुज्रिएर उचाइ चुम्न सफल भएका हुन् । नाटकीय सुख या सफलता त पानीको फोका न हो ।

अशोक दर्जी भाइ भर्खरका कलिला छन् । तर, यो उमेरमै उनको जीवनलाई मानौं ‘राजसी पारा’को बनाइँदैछ । कम्तीमा एउटा मानिसले तीस वर्षको उमेरसम्म संघर्षकै चरणबाट गुज्रनुपर्ने हुन्छ । सात आठ वर्षमै उसको जीवन मोजमस्ती, भोग विलास र घुमघाममा बित्न थाल्यो भने उसले जीवन यथार्थलाई कसरी चिन्ने ? संगीतकार टंक बुढाथोकीको संगतमा आउनुअघि कलिलो उमेरमा अशोकले गरेको भनिएको संघर्षको स्वयं अशोकलाई बोध थिएन । उनी त अबोध थिए । र, अहिले भोगीरहेको सुखको पनि उनलाई पूर्ण बोध छैन । तर, जब बोधका साथ संघर्ष गर्नुपर्ने उमेर सुरु हुँदैथियो, अशोकलाई ‘राजकुमार’ बनाइएको छ, पुलपुल्याइएको छ ।

न त उनी बुलन्द स्वरका धनी गायक हुन्, न उनको विशिष्ट प्रतिभा अहिले मुखरीत भइसकेको हो । अनेकौं ठाउँमा अटो टयूनिङ गराएर उनको एउटा गीत रेकर्ड गरिएको छ र त्यो यूटयूबमा भाइरल भएको छ । उनको त्यो भाइरल पुँजी भजाउन यतिबेला टंक बुढाथोकीदेखि सारा मानिस लागीरहेका छन् । एउटा अबोध बालकको अबोधपनलाई जसरी भजाउने काम भइरहेको छ, यो पनि एउटा बाल श्रम शोषण नै हो । अशोकको उमेरले ‘डिजर्भ’ गर्नै नसक्ने ख्याती, सफलता, उच्चता र व्यस्तताको भारी उनको थाप्लोमा बोकाइएको छ, मानवीय नाताले पनि यो गलत हो । मनोवैज्ञानिक रुपमा पनि यो अपरिपक्व गतिविधि हो ।

म गायक प्रमोद खरेलको भनाइसँग सहमत छु कि अशोकलाई ‘ट्रेन्डिङ’ हैन, अहिले ‘ट्रेनिङ’को खाँचो छ । अर्थात अशोकलाई संगीतको तालिमको खाँचो छ । सुर र तालमा उनको अझै पनि तालमेल देखिँदैन । मन्द्र, मध्य र तार सप्तकको आरोह अवरोहमा पनि उनको सुरको पकड देखिँदैन । बस, सोझो पाराले एकोहोरो गाउँछन् । मलाई लाग्छ, ‘मन बिनाको धन’ बोलको गीत रेकर्ड गराउन टंकले धेरै माथापच्ची गर्नुपरेको थियो ।

अवश्य नै, एक दिन यो ‘भाइरल भूत’ उत्रिनेछ । अशोक पन्ध्र सोह्र वर्षको हुनेछन् र त्यसबेला उनको भोकल टोन अहिलेजस्तो मिठो नहुन पनि सक्छ । स्वर धोद्रो पनि हुनसक्छ र त्यो कुनै गायकको जस्तो नभइ सामान्य मानिसको जस्तो पनि हुनसक्छ । त्यसबेला उनको हालको होहल्ला शान्त हुनसक्छ र त्यसपछि अशोक आफैले संघर्ष गर्नुपर्ने हुनसक्छ । कलिलै उमेरमा सुख सम्पन्नतामा बाँच्न अभ्यस्त बनाइएका (पुलपुल्याइएका) अशोकले त्यसबेला पुनः संघर्ष गर्नुपर्दा बडा कष्टकर पीडा हुनसक्छ । जीवन सोचेजस्तो नहुनसक्छ र त्यसले घोर निराशा ल्याउनसक्छ । मैले यस्ता मानिस धेरै देखेको छु ।

अतः अशोकलाई उनकै नैसर्गिक संघर्षको बाटोमा हिंडन दिएको भए जाती हुन्थ्यो । हो, उनलाई शिक्षा र सँगीतको तालिम जरुरी छ । उनको नितान्त आधारभूत आवश्यकताका लागि सहयोग गर्न सकिन्छ । तर, उनलाई उनकै फुसको घरमा संघर्ष गर्न स्वतन्त्र छाडिदिनुपथ्र्यो । किनकी, संघर्ष गर्न पाउनु पनि मानिसको नैसर्गिक स्वतन्त्रता हो । मानिस संघर्षबाटै आजको उन्नत अवस्थामा आइपुगेको हो । मानव सभ्यताले अभावबाटै आजको सम्पन्नता र सहजता प्राप्त गरेको हो । अशोकलाई मानवीय र प्राकृतिक स्वभावबाट किन बञ्चित गरिँदैछ ?

मानिसको जीवनमा केही क्षण नाटकीय सुख र सम्पन्नता आउनु एउटा कुरा, तर स्वाभाविक संघर्ष र कठोर साधनाबाट प्राप्त गरेको सुख नै दिगो हुन्छ । ‘भाइरल भूत’ले समातुञ्जेल अशोकका दिनहरु सुखपूर्वक होलान्, तर त्यो भूत उत्रिएपछि उनको कसैले पनि बाल मतलब राख्नेछैनन् । अचेल प्रकाश परियारको चर्चा किन कम हुँदैछ ? किन गुगल ब्वाय भनिएका आदित्यको चर्चा घटन थालेको छ ? किनकी, अचेल अरु नै कुनै कुरा भाइरल भइरहेको छ र त्यसले पुरानो भाइरल विषयलाई ओझेलमा पारिदिन्छ । यो भाइरलको क्षणिक चर्चा र ख्यातीले धेरै मानिसलाई भडखालोमा जाकेको छ । भाइरल हुनासाथ महत्वाकांक्षा जाग्छ, तर त्यसको क्षणिकताको बोध हुँदैन । जुन दिन भाइरलको असर कम हुन थाल्छ, अनि निराशा बढन थाल्छ ।

‘भाइरल माफीया’लाई अशोकको सिंगो जीवनको चिन्ता छैन । कुनै पनि गायक आजिवन हिट हुन सक्दैन । पच्चिस तीस वर्षपछि अशोकलाई झन बढी पैसाको खाँचो पर्छ, किनकी उनको विबाहको प्रसँग चल्नेछ । घरजमको कुरा आउनेछ । त्यसबेलासम्म अशोकको क्रेज अहिलेकै जस्तो होला त ? के टंकहरु यसको ग्यारेन्टी दिन सक्छन् ?

हुन त, एउटा गरीब गाउँको फुच्चेलाई काठमाडौं ल्याएर, कपाल काटिदिएर चिटिक्क पारी, गीत रेकर्ड गराएर, विदेश घुमाएर, मिठो मसिनो खान दिएर, सबैको वाहवाही जुटाइदिएर अनि सँसारभर हिट बनाइदिएर टँकहरुले राम्रै काम गरेका हुन् । तर, यति गरिसकेपछि अब उनलाई लिएर देश विदेश धाउने, अशोककै ख्यातीको पछि पछि आफमू पनि दगुर्ने र आफूलाई उनको ‘गड फादर’जस्तै ठान्ने प्रवृत्ति गलत हो ।

अशोक दर्जीलाई पनि संघर्षको यस्तै चरणबाट गुज्रन नदिनु उनीमाथिको घोर अन्याय हो । अतः अब उनीबाट यो भाइरल भूत उतार्नुपर्छ र उनलाई शान्त, एकान्त वातावरणमा शिक्षा, साधना र संघर्षका लागि छाडिदिनुपर्छ
‘सानोमा लालनपालन, तन्नेरी भएपछि ताडन’ भएन भने मान्छेले जीवन बुझ्न सक्दैन । जीवनका कठोर यथार्थ नबुझ्ने मान्छेले जीवनमा उन्नती पनि गर्न सक्दैन । अब अशोकलाई कम्तीमा दश वर्ष यो ख्यातीको तामझामबाट मुक्त राखेर पढाउनुपर्छ, सँगीत सिकाउनुपर्छ र विद्यार्थी कालको कठोर साधना र संघर्षमय सादगीपूर्ण जिवन बाँच्न दिनुपर्छ । अनि बल्ल अशोकले आफूलाई आफैले चिन्नेछन् र आफ्नो स्वरुप चिनेर आफै संघर्षमा उत्रनसक्नेछन् ।
कागको जस्तो चलाखी, बकुल्लाको जस्तो ध्यान, कुकुरको जस्तो पातलो निद्रो, अल्प अहार र गृह त्याग । यति गुणका साथ अध्ययन र साधना गरेर नै कुनै पनि मान्छे पूर्ण र परिपक्व हुनसक्छ । तपस्या गर्ने उमेरमा भोग र विलासमा डुबेपछि मान्छेले कसरी उन्नती गर्ला ?

म गायक धीरज राइलाई सम्झन्छु, जब उनले पहिलो गीत रेकर्ड गर्दा कति संघर्ष गरेका थिए । जुत्ता किन्ने पैसा बचाएर उनले पहिलो गीत रेकर्ड गरेका थिए । म नबिन के. भट्टराईलाई पनि सम्झन्छु, जब उनको पहिलो नेपाली गीत ‘रहरै रहरमा’ हिट्स एफएमले नबजाउँदा उनको मनमा कति निराशा छाएको थियो ? एक पटक गायक प्रनिल तिमल्सीना र आश्वीन दाहालका साथ हामी नविनको घरमा जाँदा उनी कुन हदसम्म निराश थिए भने उनले त्यो पहिलो गीतको क्रोम क्यासेट खाट मुन्तिर हुत्याएर ‘अब म गाउँदिन’ भनिरहेका थिए । तर, यी सारा संघर्ष र निराशाको चरणबाट गुज्रीएर नै आज धीरज राइ र नविनले पप सँगीतमा तहल्का मच्चाइरहेका छन् । किनकी, उनीहरुमा प्रतिभा थियो, जुन कसैगरी पनि लुक्न सकेन ।

अशोक दर्जीलाई पनि संघर्षको यस्तै चरणबाट गुज्रन नदिनु उनीमाथिको घोर अन्याय हो । अतः अब उनीबाट यो भाइरल भूत उतार्नुपर्छ र उनलाई शान्त, एकान्त वातावरणमा शिक्षा, साधना र संघर्षका लागि छाडिदिनुपर्छ ।
टँक बुढाथोकीजी, अशोकको नैसर्गिक स्वतन्त्रता नखोस्नुस् । उनलाई संघर्षको मैदानमा एक्लै आफ्नो गोडामा उभिन दिनुस् । तपाइहरुको वैशाखी टेकेर उनले कहिलेसम्म हिँडने ? अनि अशोकको ख्यातीलाई तपाइहरुले पनि कहिलेसम्म भजाउने हँ ?

भदौ ४, २०७५ मा प्रकाशित/लोकान्तर बाट बाट साभार