पूर्व मुख्य सचिव सुवेदीको पदक खोसियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, भदौ १९ ।

सरकारले पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने तयारी गरिएको प्रवल जनसेवा श्री पदक नदिने भएको हो ।

२०७४ सालको गणतन्त्र दिवसमा सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री पदक दिने निर्णय भएको थियो । तर गृह मन्त्रालयले भने सुवेदीलाई दिने घोषणा भएको प्रवल जनसेवा श्री पदक नदिने निर्णय गरेको थियो ।

एकै व्यक्तिले तीन वर्षमा दुई पटक पदक लिन नपाइने व्यवस्था अनुसार प्रधानमन्त्री कार्यालयको दिर्नेशन अनुसार गृहमन्त्रालयले पदक पाउने सूचीबाट सुवेदीको नाम हटाएको गृहमन्त्रालयका एक अधिकारीले बताए ।

पदक आज(मंगलबार) राष्ट्रपति कार्यलयमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले विभिन्न १० विभुषणमध्येको मानपदवीबाट आज ३ सय ४५ जनालाई विभुषित गर्ने कार्यक्रम छ ।

गृह मन्त्रालयका अनुसार नेपाल रत्नबाट १ जना, राष्ट्रगौरवबाट १ जना, महाउज्ज्वल राष्ट्रदीपबाट ५ जना, उज्जवल किर्तिमय राष्ट्रदीपबाट १ जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट ७ जना, सुकिर्तिमय राष्ट्रदीपबाट २१ जना, सुप्रबल जनसेवा श्रीबाट १ सय १९ जना, कीर्तिमय राष्ट्रदीपबाट ५ जना, प्रवल जनसेवा श्रीबाट १ सय ४० जना र जनसेवा श्रीबाट ४५ जना गरी जम्मा ३ सय ४५ जना विभुषित हुन लागेको जनाएको छ ।

मुख्यसचिवको जागिर छोडेर एसियाली विकास बैंक(एडीबी) मा जागिर खान गएका सुवेदीलाई सरकारले फिर्ता बोलाएको थियो ।