हेलिकप्टर दुर्घटना अपडेट– मेघाममा दुर्घटना भएको अवस्थामा भेटियो हेलिकप्टर

हाम्रो सन्देश संवाददाता

गोरखा, २३ भदाै ।

गोरखाको सामागाउँबाट शनिबार बिहान काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर नुवाकोटको मेघाम डाँडामा दुर्घटना भएको अवस्थामा फेला परेको छ । उनले हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताउँदै यात्रुको अवस्थाका बारेमा जानकारी नभएको बताए ।

‘उद्दारका लागि गएको हेलिकप्टरबाट जंगलमा हेलिकप्टर देखिएको छ तर हेलिकप्टर अवतरण गर्न सकिएको छैन’ तिबारीले भने ।
एकजना चालकसहित सात जना हेलिकप्टरमासवार थिए ।

अल्टिच्यूट एयरका सञ्चालक सिताराम सापकोटाका अनुसार उद्धारका लागि गएको अल्टिच्यूट एयरको हेलिकप्टरबाट घटनास्थल देखिएको छ । जंगलमा रुखका हागा भाँचिएका र हेलिकप्टर छड्के अवस्थामा देखिएको सापकोटाले बताए । तर मौसम सफा नभएका कारण उद्धारकर्ता घटनास्थलको नजिक पुग्न सकेका छैनन् ।

को को थिए हेलिकप्टरमा ?

हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । जसमा एक जना जापानी नागरिक र ६ जना नेपाली थिए ।

हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डाल्पा डिक्की, छोवाङ नुर्बु, सुनिल तामाङ छन् । निश्चल केसी हेलिकप्टरका चालक हुन् ।

अल्टीच्यूट एयरका अनुसार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।

काठमाडौं विमानस्थलका अनुसार सो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो ।