आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १९ असोज ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएका छन् । आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको लगायत आरोप लगाउँदै नेकपाका उच्च तहका नेताहरु नै महानिरीक्षक खनाललाई वर्खास्त गर्ने गरी लबिङ थालेका हुन् ।

बर्खास्त गर्न तत्काल सम्भव नभए आईजीपी खनाललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर जिम्मेवारीबाट हटाउन सक्ने विषयमा पनि नेकपाभित्र छलफल चलिरहेको उच्च स्रोतले बतायो ।

यता सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन पनि आइजिपी हटाउन सक्रिय भएका छ । तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दबाब दिएका हुन् ।

आइजिपी हटाउन दबाब दिने अध्यक्ष लामा र तामाङको कार्यशैलीको संगठनभित्रै विरोध भएको छ । दुवै नेता संगठनको विधि र प्रक्रिया मिचेर आइजिपीको राजीनामा माग्दै हिँडेको आरोप संगठनका अन्य पदाधिकारीले लगाएका छन् । तत्कालीन एमाले निकट अखिलका महासचिव ऐन महरले भने, ‘संगठनको कुनै पनि निकाय र तहमा छलफल नभई अध्यक्ष एकल स्वार्थका आधारमा आइजिपी हटाउनुपर्छ भन्दै गृहमन्त्रीकहाँ पुग्नु भएछ, त्यो संगठनको निर्णय होइन ।’

काठमाडौं उपत्यकामा हुने गरेका शृंखलाबद्ध अपराधका घटनामा संलग्न सत्यमान लामालाई महानगरीय परिसर काठमाडौंले पक्राउ गरेपछि उनलाई छुटाउन सांसद नवीना लामा परिसर पुगेकी थिइन् । परिसरका तत्कालीन प्रमुख एसएसपी विश्वराज पोखरेलले सत्यमानलाई जिल्ला प्रशासन कार्यालयमा पठाएपछि काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माले सांसद लामाकै जिल्लामा लगाएर सत्यमानलाई छाडिदिएका थिए।