पूर्वएमाले नेतालाई लाग्यो युवती अपहरण गरेको आरोप,बचाउन मन्त्रीदेखि सांसदको दौडधुप

हाम्रो सन्देश संवाददाता

काठमाडौँ,१३ कार्तिक ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नेतामाथि युवती अपहरण गरेको आरोप लागेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी उषा थापा कात्तिक ५ गतेदेखि हराएकी छन् ।

भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथलीका ईश्वर खड्काले उषालाई अरु केटाहरु लगाएर अपहरण गर्न लगाएको आरोप परिवारले लगाएका छन् । उषा र ईश्वर मामा–भान्जी समेत पर्छन् । १८ वर्षीय उषा घरबाट निस्किएकी थिइन् तर अझै नफर्केपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

बुबा माधव थापाका अनुसार महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा उषा हराएको जानकारी कात्तिक ६ गते नै परिवारले दिएको थियो । तर, अहिलेसम्म खोजी कार्यले गति लिन सकेको छैन । उषाका बुबा माधवले नै साला नाता पर्ने इश्वरविरुद्ध किटानी जाहेरी दिएका छन् । जाहेरीमा इश्वरकै योजनामा उषाको अपहरण गरिएको दाबी गरिएको बताइएको छ । सोही उजुरीकै आधारमा इश्वरलाई प्रहरीले हिरासतमा राखेको छ ।

पूर्वएमालेका जिल्लाका चल्ताफिर्ता नेता हुन् इश्वर । एमालेको खेलकुद महासंघको भक्तपुर सचिवसमेत हुन् । प्रहरीले इश्वर र उषाबीच फेसबुकमा कुराकानी भएको प्रहरीले भेटाएको छ । उनीहरुबीच अश्लील कुरा समेत भएको बताइएको छ ।

इश्वरकै योजनामा अपहरण भएको परिवारले किटानी दिएको भएपनि प्रहरीले भने साइबर क्राइमअन्तरगत मुद्दा चलाउने तयारी गरेको बताइएको छ ।

शान्ति निकेतन माविमा कक्षा ९ मा पढ्दै गरेकी उषाको कोठामा प्रहरीले दुईवटा चिठी फेला पारेको बताइएको छ । उक्त चिठीमा उनले मामाको कुनै दोष नभएको लेखेकी छन् । प्रहरीका अनुसार अरु दुईकेटाको नाम छ । यो चिठीमाथि नै घरपरिवारको शंका छ ।

उषाको नाममा अर्को फेसबुक अकाउन्ट बनेको प्रहरीले बताएको छ । उक्त अकाउन्टमाथि नै परिवारले शंका लागेको छ । घटनालाई अन्तै मोड्न उक्त अकाउण्ट बनाइएको हुन सक्ने परिवारको शंका छ ।

सत्तारुढ (नेकपा)का मन्त्री, सांसद, मेयर र जिल्लाका नेताहरुले इश्वरमाथि मुद्दा नचलाउन दबाब दिइरहेको परिवारको आरोप छ । निर्मला पन्तको हत्याकाण्ड जस्तै बनाउने परिवारको चिन्ता छ ।