जेटिएको जागिर छाडेर कुरिलो खेती, सोचेभन्दा राम्रो आम्दानी

हाम्रो सन्देश संवाददाता

बेझाड, पुष २२ ।

बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै छिन्।

कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उनी यसतर्फ आकर्षित भएकी हुन्। “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु” घिमिरेले भने।

उनले किसान परियोजनामा आवद्ध हुँदा मासिक रु ५० हजार बराबर तलब बुझथिइन्। विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गरेकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाएकी छिन्।

कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरिरहेकी छिन्। “आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसायबाट महीनामा लाखौं कमाउन सकिन्छ” उनी भन्छिन्।

खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उनलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ। यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उनी बताउछिन्। यहाँ उत्पादित कुरिलो प्रतिकिलो रु ४००मा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ।

“कुरिलोको उत्पादन लिने समय नहुँदै पहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पुर्याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु” घिमिरेले भनिन्।

यस व्यवसायमा उनका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आएका छन्। घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहेकी छिन्। मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हुँदा पनि बिक्रीका कुनै समस्या छैन।

कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन्। एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन्।

घिमिरेको व्यवसाय देखेर अहिले उक्त गााउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउछिन्। रासस

Loading...