हो, म वेश्या हो !

हाम्रो सन्देश संवाददाता

मलाई राम्रोसँग थाहा छ, मलाई प्रेम गर्छु भन्नेहरुको प्रेम केवल आफ्नो इच्छा पुरा नभइन्जेलसम्मका लागि मेरो शरिरसँग खेल्ने एउटा राम्रो बाहाना मात्र हो भनेर

– कुसुम तामाङ्ग, दमक

खै कहाँबाट सुरु गरौ मेरो मन–मष्तिस्कभित्र आँटी–नआँटी उकुसमुकुस भएर बसेका अनि निसास्सिएर रोएका आँशु र भक्कानीएका मेरा मनका कुराहरु, कहाँबाट बाहिर निकाल्न सुरु गरौँ म आफै अन्यौलमा छु ।

आफैसँग वाचा गरेकै हो मैले आफ्ना कथा–व्यथा कसैलाई सुनाउँदीन भनेर तर अहँ! सकीन मैले आफैसँग गरेको वाचा पूरा गर्न । यसो भनिरहँदा आफैले भनेको एउटा कुरा याद आयो मेरो सामु कसैले वाचा–कसम लिदाँ म सँधैजसो भन्ने गर्थे वाचा–कसम तोड्नकै लागि हो भनेर र आज म पनि त्यही काम गरिरहेकी छु । आज म सत्य बोल्न चाहान्छु स्वतन्त्र भएर बिना कुनै बन्धन । हो म समाजमा छु । आफ्नै परम्परा छ समाजको र आज मैले बोलेका र लेखेका हरेक कुरा मेरो समाजलाई मन नपर्ला फेरि पनि जब तिरस्कारले बिझेको हुन्छ त्यतीबेला समाजको परम्परा कहाँ याद आउँदो रहेछ र । हो दुखेको छ अनि रोएको छ मेरो मन खुब बिझेको छ मलाई तापनि छटपटाउँदै चिच्याएर रुन्न म । कहिलेकाहीँ मनमा वेदनाको सुनामी उर्लन्छ, छटपटी लाग्छ त्यसैले त मनका वेदनालाई कागज र कलमको सहायतामा अक्षर बनाएर बगाइदीन मन लाग्छ । जे होस आज लाज, घीन, डर र मेरो सभ्य समाजको परम्परालाई तिलाञ्जली दिएर केहि शब्द लेख्ने आँट गरेकै हो मैले कीनकी लज्जा हराएपछि अनुसासन पनि हराउँदोरहेछ अझ म त वेश्या हुँ ।

चाहाना र आवश्यकताबिच निकै ठूलो खाडल रहेछ । आज मेरो समाजमा म वेश्या भनेर परिचित छु । साँच्चै भन्दैछु मलाई मेरो पहिचान वेश्या भनेर बनाउने कुनै चाह थिएन तर मेरो जिवनमा मेरा आवश्यकताहरु यति महत्वपूर्ण थिए की त्यो आवश्यकता पूरा गर्न मलाई के मा फाईदा छ भनेर मैले फाइदासँग सौदा गर्न अँह! सकीन । जब दिनभरि बलात्कारिलाई फाँसी दे भन्ने नारा लगाएर चीच्याउँदै हिँड्ने केहि सामाजिक व्यक्तित्व मानीएका सज्जन पुरुषहरु पनि साँझपरेपछि केहि रकमको दम्भ देखाएर आफ्नो कामवाशना र सम्भोगको इच्छा पूरागर्न म जस्ता वेश्याको खोजीमा होटल र लज चहार्छन हो त्यतीबेला मलाई खुब हाँसो उठ्छ । म जत्तीको राम्रो र विवेकी कोहि छैन भन्ने अहम् पनि पक्कै हुँदो हो तिनिहरुमा । खैर! यहि छाडौँ यो कुरा । मैले त आफ्नै अर्थात एउटी वेश्याको कुरा सुनाउन खोजेको काहाँ सज्जनको पो कुरा गर्न थालेछु ।

सपना सामान्य थियो मेरो पनि अरु केटीको जस्तै । जिवनमा एउटासँग प्रेम गर्ने, विवाह गर्ने, आफ्नै एउटा बेग्लै दुनीया बनाउने, स–साना खुशीका रँगहरुले जिवन सजाउने अनि सधैँभरीको लागि यो जिवन एउटैका निम्ति समर्पीत गरिदिने यस्तै यस्तै!! सामान्य अनि निकै सरल थिए मेरा सपनाहरु । आज यि शबै सपनाहरु सपनामै सिमित रहे अझ भनौ मेरो जिवनबाट मैले पत्तै नपाई यि शबै सपना खै कता विलय भए । अहँ! पटक्कै रहर थिएन मेरो कहिल्यै नदेखेको अनुहारसँग प्रत्येकदिन प्रेम गर्ने, अनि फेरि कहिल्यै भेट नहुनेहरुको शरिरसँग केही क्षणको लागि एक भइदिने ।

साँच्चै भनौभने आज म निर्जिवन जिवन बाँचीरहेकी छु । रँगबिहिन! आज जिवनमा कुनै रँग छ त सिर्फ कालो रँग छ म सँग । कहिलेकाँही अधैर्य हुन्छ मन, भयङ्कर डरलाग्दो आँधी उठ्छ यो मनमा समयले दिएको घाउ हेर्दै पीडाको आयतन नाप्न नसकेर विक्षिप्त हुन्छ मन । मरेको सँवेदना बोकेर हाँस्न निकै गाह्रो हुँदो रहेछ । साँझ पर्नुभन्दा अगाडिनै अँध्यारोमा हुन्छ जिवन । अस्तव्यस्त छु म यहाँ, अब त यो कुनै नौलो कुरा हुन छाड्यो मेरा लागि प्रत्येक दिन अँध्यारो कोठामा एउटा कालो छाँया मतिर अघि बढ्छ अनि मनभरि डर बेकेरै भएपनि मैले सँधैजसो त्यो छायाँसँग सामना गर्नैपर्छ । न त म भाग्न सक्छु न त चीच्याउँदै कराउननै सक्छु । धेरैपटक भइसक्यो त्यो कालो छायाँसँग अँगालो हालेको त्यसैले अब त त्यो छायाँसँग डर लाग्न पनि छाडिसक्यो । आखिर के नै पो गर्न सक्छ र त्यो छायाँले बस! मनका बाँधहरु लुटेर लगिदिन्छ । त्यसैपनि एकछाक टार्ने र एकसरो लाउने मेरो आवश्कता पूरा गर्न आफ्नो स्वाभिमान बेच्ने वेश्या हुँ म । कसैले नदेख्ने गरि कतै हराएको छ मेरो अस्तित्व त्यसैले प्रत्येक दिन मेरो सामु आउने त्यो कालो छायाँलाई म मौन स्वीकृति दिइरहन्छु, जे मन लाग्छ त्यही गर त्यसैपनि अब यो मेरो देह केहि होइन यो त एक थुप्रो माटो मात्र हो ।

एउटी वेश्याको जिवनमा आँशु, दुख, विडम्बना, पिर अनि व्यथामात्र कहाँ हो र प्रेम पनि हुँदोरहेछ । केहि क्षणकै लागि झुटो नै कीन नहोस अँध्यारो कोठाजस्तै मेरो अँध्यारो मनभित्र प्रेमको दियो जलाउन खोजेजस्तो गर्नेहरुको पनि कहिल्यै खाँचो परेन मेरो जिवनमा । प्रेमको परिभाषा त धेरै होलान् जुन मलाई त्यती धेरै थाहा छैन तर एउटा कुरा भन्न सक्छु प्रेमको जोशले गर्दा मान्छेले आफूले आफैलाई पनि बिर्सदो रहेछ ।

मलाई राम्रोसँग थाहा छ जो जो मलाई भेट्न आए तिनिहरुले बास्तवमै आफूले आफूलाई बिर्शैरनै मकहाँ आए । आफ्नो जात, धर्म, नाम र पहिचान त्यो अँध्यारो कोठाको ढोका बाहिरनै छाडेर आए । मलाई राम्रोसँग थाहा छ, मलाई प्रेम गर्छु भन्नेहरुको प्रेम केवल आफ्नो इच्छा पुरा नभइन्जेलसम्मका लागि मेरो शरिरसँग खेल्ने एउटा राम्रो बाहाना मात्र हो भनेर । मेरो विवशताको खिल्लि उडाउँदै मेरो माया चोखो छ, प्रेममा मात्र प्रेम हेरिन्छ म तिम्रो आत्मासँग प्रेम गर्छु भन्दै मेरो स्तन छाम्नेहरुले त्यो स्तनभित्रको मेरो मनलाई कहिल्यै पनि महशुस गर्न सकेनन् । कसैले भनेको सम्झन्छु “वेश्या अरुलाई आफ्नो आनन्द बेच्ने साधु हो ” हो पनि । अँत,यसरिनै प्रत्येकदिन लुटीरहन्छु म तर पनि मुस्कुराउन छाड्दीन म कीनकी म त वेश्या हो ।

Loading...