मलेसियामा विदेशी कामदारको बिजोग : कम तलबमा धेर काम

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १२ माघ ।


महेश थापाको आँखामा पीडा झल्किएको स्पष्ट देखिन्छ । यी कामदार काठमाडौंबाट दुई हजार माइलको यात्रा गरेर कन्डम बनाउने मलेसियाको सबभन्दा ठूलो कम्पनीमा काम गर्न आएका हुन् । आफ्ना दुई सन्तानको हातमुख जोर्न र शिक्षाको जोहो गर्नका लागि उनी घर छोडेर हिँडेका हुन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा तथा टेस्को, बूट्स र सुपरड्रग लगायतका ठूला ब्रान्डहरूलाई कन्डम आपूर्ति गर्ने कारखानामा काम गर्दा उनको परिवारको भविष्य सुरक्षित हुने उनको आशा थियो ।

तर क्वालालम्पुर नजिकको पोर्ट क्लाङमा रहेको कारेक्स इन्नोल्याटेक्स कारखानामा तीन वर्षे कार्य सम्झौतामा आएका र दुई वर्ष बिताएका थापाले घन्टाको १०० रुपैयाँमा काम गरेर बाँच्न नसकिने भनी चिन्ता व्यक्त गरेका छन् ।

गहभरि आँसु पार्दै उनले टेलिग्राफलाई बताएअनुसार, ओभरटाइम गर्न नपाउँदा उनी आमा, श्रीमती र बालबच्चाको खर्चको जोहो गर्न सकिरहेका छैनन् । हप्ताको ६ दिन अनि दिनको आठ घन्टा काम गरेपनि उनी महिनाको जम्मा चानचुन २८ हजार रुपैयाँ कमाउँछन् ।

‘मेरो परिवार छ अनि मैले यहाँ खाएर बाँच्नैप–यो । ओभरटाइम नगरिकन म परिवारको छाक टार्नै सक्दिनँ । म के गरूँ ?’ उनले भावुक भएर भने ।

काम छोडेर घर फर्किनु पनि उचित विकल्प हैन । मलेसियामा काम गर्ने अनेकौं कामदार जस्तै थापा पनि सम्झौता तोडेमा तीन महिनाको तलब गुम्ने डर पालिरहेका छन् ।

उनी ऋण काढेर मलेसिया आएका हुन् । नेपालका म्यानपावर कम्पनीले उनीसँग एक लाख २० हजार रुपैयाँ लिएर मलेसियामा जागिर दिलाएका हुन् । उनीहरूले अहिले पाएको भन्दा दुईगुणा बढी तलब हुने बताएका थिए त्यसैले उनले सम्झौता गरेका थिए ।

द टेलिग्राफले कारेक्स कन्डम र क्याथेटर कारखानामा काम गर्ने २२ नेपाली र बंगलादेशी कामदारसँग कुराकानी गरेको थियो ।

ती कारखानाबाट निस्कने उत्पादनलाई विश्वका सबभन्दा ठूला र ‘नैतिक रूपमा सचेत’ ब्रान्डहरूलाई आपूर्ति गरिने भए पनि त्यहाँ काम गर्ने सबैको व्यथा उस्तै खालको छ ।

कारेक्सका केही कामदारहरू साँघुरो ठाउँमा बेइज्जतीपूर्ण अवस्थामा काम गरिरहेका छन् । एउटा चिसो र फोहरी कोठामा १२ जनासम्म कोचिएर बस्ने गरेका छन् ।

उनीहरूको तलबबाट मासिक रूपमा १३ सय रुपैयाँ काटिने गरेको छ र त्यसबापत उनीहरूले स्टीलको एउटा बंकबेड (तल्ले खाट) पाउँछन् तर बिछ्यौना दिइँदैन । च्यापच्यापे भित्तोमा लुगा झुण्ड्याउनका लागि एउटा डोरी दिइएको छ । शौचालय फोहरी र नचल्ने किसिमको छ । अनि एउटा भान्सा छ जसमा दुईवटा ग्यास स्टोभ छन् ।

‘कहिलेकाहीँ विषालु साँपहरू भित्र आउँछन्,’ एक कारेक्स कामदारले बताए । ‘होस्टल खत्तमै छ । हामी यहाँ यसरी बसिरहन सक्दैनौं ।’

पोर्ट क्लाङमा एउटा कोठामा १२ जना कामदार राखिएको द टेलिग्राफले भेट्यो । त्यो कोठा अलिक सफा देखिन्थ्यो तर त्यसमा आधारभूत सुविधाको कमी नै थियो । एउटा कुनामा प्लाइऊडको कामचलाउ टेबलमा बसेर खाना खान मिल्थ्यो । घोप्ट्याइएका बाल्टिनलाई कुर्सीका रूपमा उपयोग गरिएको थियो ।

त्यहाँ बस्नेहरूले सुरक्षाको चिन्ता व्यक्त गरे । स्थानीय आपराधिक समूहहरूले प्रवासी कामदारको थोरबहुत कमाइ लुट्नका लागि आक्रमण गर्ने गरेका छन् ।

एक नेपाली महिलाले कारखानाबाट कोठामा जाँदा लुटपाट गर्न खोज्ने चारजनासित संघर्ष गरेकी थिइन् । कामदारको सुरक्षाका लागि कारेक्सले पर्याप्त काम नगरेको उनी बताउँछिन् । ‘यहाँ हाम्रो मूल्य कुकुर बिरालोको जति मात्र छ,’ उनले भनिन् ।

फोर्ब्स पत्रिकाका अनुसार, कारेक्सले वर्षको पाँच अर्ब कन्डम उत्पादन गर्छ जुन विश्व बजारको लगभग १५ प्रतिशत हो । यसको वार्षिक कमाइ लगभग १० अर्ब रहेको छ । यसका वरिष्ठ निर्देशक गोह सियाङलाई मलेसियाका सबभन्दा धनी व्यक्तिमध्ये एक हुन् ।

कम्पनीको वेबसाइटमा एउटा कर्पोरेट भिडियो राखिएको छ जसमा कम्पनीले ‘मानवतालाई कन्डममार्फत सहयोग’ गरिरहेको दाबी गरेको छ । यसले आफूलाई ‘सामाजिक जिम्मेवारी र दिगोपनको पक्षधर’ भनी वर्णन गर्छ ।

उसले आफ्ना कारखानाहरूमा ‘जबर्जस्ती श्रम’ वा ‘आधुनिक दासता’को अवस्था नरहेको बुधवार बताएको छ ।

कारेक्सका सीईओ गोह मियाह कियाटले कामदारको खराब अवस्थाको विषय उजागर हुनु महत्त्वपूर्ण रहेको बताए र सबै आरोपलाई एकदमै गम्भीर रूपमा लिएको पनि भने ।

उक्त कम्पनीमा काम गर्ने दक्षिण एसियाली मूलका आप्रवासी कामदारको बयान सुन्दा उनीहरू अत्यन्तै गरीब परिवारबाट आएको र आफ्नो परिवारको जीवनयापनका लागि विदेश पसेको देखिन्छ । उनीहरूको अवस्थाले कारुणिक चित्र उजागर गर्छ ।

द टेलिग्राफले अन्तर्वार्ता लिएकाहरूले दैनिक ओभरटाइम नगरी बाँच्नै गाह्रो भएको बताए । उनीहरूको आधारभूत तलब एक हजारदेखि ११ सय रिंगिट छ (लगभग २८ हजार रुपैयाँ) र त्यो भनेको मलेसियाको न्यूनतम वैध तलब हो । तर यति तलबले बाँच सकिन्छ कि सकिँदैन भन्ने विषयमा चिन्ता उठेका छन् ।

एथिकल ट्रेडिङ इनिसिएटिभ (ईटीआई) ले कामदारहरूको अधिकारको आचारसंहितालाई प्रवर्द्धन गर्ने गरेको छ र त्यसमा धेरै बेलायती रिटेलरहरूले हस्ताक्षर गरेका छन् । उक्त संस्थाले जीवनयापनका लागि ठिक्क हुने तलब भनेको आधारभूत आवश्यकता परिपूर्ति हुने र केही आम्दानी पनि हुने भनी परिभाषित गरेको छ ।

कामदारहरूले यति तलब नियमित कार्यालय समयभित्रै कमाउनुपर्ने र अत्यधिक ओभरटाइम गर्नु नपर्ने हो ।

द टेलिग्राफले अन्तर्वार्ता लिएका अधिकांश कामदारले नियमित रूपमा हप्तामा १२ देखि २४ घन्टा ओभरटाइम गरेको दाबी गरे । उनीहरूले आम्दानी बढाउनका लागि यसो गरेको र थप काम गर्न नपाइने हो कि भनी डर मानेको देखियो ।

नेपाली कामदारहरूले मलेसिया आउनका लागि एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म तिरेको बताए जबकि नेपाल सरकारले सन् २०१५ मा श्रम स्वीकृतिका लागि १० हजारभन्दा बढी लिन नपाइने नियम ल्याएको थियो ।

बुधवार कामदारको अधिकारसम्बन्धी अग्रणी संस्थाहरूले खुलापत्र प्रकाशित गरेर मलेसिया सरकारलाई कन्डम कारखानामा मानवअधिकार उल्लंघन हुन नदिनका लागि थप कदम चाल्न आग्रह गरेका छन् ।

कारेक्सले जीवनयापन ज्याला (लिभिङ वेज) को प्रश्नलाई विशेष रूपमा सम्बोधन गरेन तर कामदारहरूको तलब वार्षिक समीक्षापछि बढ्ने जनायो ।

तर कारेक्सका कामदारहरूले व्यक्त गरेको चिन्ता कम तलब र काम पाउनका लागि तिर्नुपरेको रकममा सीमित छैन । सेनाइ कारखानामा काम गर्ने चारजनाले कम्तीमा एक महिना तलब बराबरको सेक्युरिटी ग्यारेन्टी तिरे मात्र कम्पनीका लकरमा रहेका आफ्ना राहदानी फिर्ता लिन पाइने शर्त राखिएको दाबी गरे ।

निजी स्वामित्वका अनेकौं होस्टलसँग कारेक्सले सम्झौता गरेको र होस्टलको स्तरोन्नति सुनिश्चित गरेको गोहले बताए । कम्पनीले विदेशी कामदारको २५ प्रतिशत अर्थात् २५० जनालाई जनवरी महिनाभित्र नयाँ कोठा दिइने योजना बनाएको छ अनि कोठाको भाडाका लागि काटिने गरिएको १३ सय रुपैयाँ जनवरी १ देखि लिन बन्द गरेको छ ।

‘सबै कामदारको कल्याण र सुरक्षा अत्यन्तै महत्त्वपूर्ण छ र सुृरक्षा उपायहरूमा सुधार ल्याइनेछ,’ उनले थपे ।

कामदारको राहदानी जफत गर्ने कम्पनीको नीति रहेको कुरालाई उनले अस्वीकार गरे र सबैलाई निजी लकर उपलब्ध गराइने बताए ।

द टेलिग्राफले विदेशी कामदारहरूको दयनीय अवस्थाका बारेमा गरेको रिपोर्टिङपछि कारेक्स कम्पनीका ग्राहकहरूले चिन्ता व्यक्त गरे र आवश्यक सबै किसिमको कारवाही चलाइने बताए ।

द टेलिग्राफमा प्रकाशित निकोला स्मिथको रिपोर्टको भावानुवाद

Loading...