युएस-बंगाला दुर्घटनामा नेपालले आफ्नो गल्ति लुकाएर हाम्रो मात्र गल्ति देखायो: बंगालादेश

हाम्रो सन्देश संवाददाता

बीबीसी/काठमाडौँ, १६ माघ ।

गत वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस-बाङ्ग्ला विमान दुर्घटनाबारे नेपाल सरकारबाट गठित छानबिन समितिको प्रतिवेदनको बाङ्ग्लादेशका नागरिक उड्डयन अधिकारीहरूले आलोचना गरेका छन्।

उनीहरूले बाङ्ग्लादेशका विमानचालकको मात्रै दोष देखाइएको र त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण कक्षका कर्मचारीको गल्ती नऔँल्याइएको भन्दै छानबिन आयोगको आलोचना गरेका हुन्।

सन् २०१८ को मार्च १२ को दिनमा ढाकाबाट आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा दुर्घटना भएको थियो। त्यो दुर्घटनामा विमानमा सवार ७१ यात्रुमध्ये ५१ जनाको ज्यान गएको थियो।

सुरुमा विमानस्थलका हवाई ट्राफिक नियन्त्रक र विमान चालकबीच राम्रो सञ्चार हुन नसकेकोले विमान दुर्घटना भएको हुनसक्ने ठानिएको थियो । तर यसै साता सार्वजनिक भएको छानबिन प्रतिवेदनले विमानचालक राम्रो मानसिक स्थितिमा नभएको उल्लेख गरेको छ।

प्रतिवेदनमा विमानचालकले तनावका कारण चालकदलका अन्य सदस्यहरूसँग कराएको र विमानभित्रै धूमपानसमेत गरेको उल्लेख छ।

दुर्घटना छानबिन आयोगको प्रतिवेदनमा भनिएको छ ( यूएस बाङ्ग्ला एअरलाइन्सको उडान बीएस २११ का चालक मानसिक रूपमा एकदमै तनावग्रस्त र थकित थिए । त्यो उडानमा नभएकी एक महिला सहकर्मीले उनी दक्ष उडान प्रशिक्षक नभएको भन्दै उनको प्रतिष्ठामाथि नै प्रश्न उठाएकोले उनी तनावमा रहेको भनिएको छ ।

Loading...