‘आँट त गऱ्यौ धुर्मुस खातामा सुको पैसा छैन’ : प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

श्रीविक्रम भण्डारी

देशको एउटै मात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’ले अहिलेसम्म काँचुली फेर्न सकेको छैन । पञ्चायतकालमा बनेको दशरथ रंगशालाले नेपालमा आयोजना भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पहिलोपटक काँचुली फेरेको थियो । चीनले निर्माण गरेको दशरथ रंगशालालाई चीनले नै आजभन्दा २५ वर्षअघि पुनर्निर्माण गरेको थियो । अहिले नेपालमा आयोजना हुन गइरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजनाको लागि पनि चीनले नै यतिबेला दशरथ रंगशालाको स्वरूप फेर्ने जिम्मेवारी पाएको छ । दशरथ रंगशालाको निर्माण हुँदा र पुनर्निर्माण हुँदा सुकोसमेत खर्च नगरेको नेपाल सरकारले यसपटक भने केही लगानी गरेको छ ।

चीनको दाँजोमा नगन्य लगानी गरेको सरकारले महाभूकम्पको चपेटामा परेको दशरथ रंगशालाको निर्माणको कुरामा कहिल्यै तत्परता देखाएन । साँचो रूपमा भन्नुपर्दा अहिलेसम्म खेलकुदको विकास, विस्तार र पूर्वाधारको निर्माणमा सरकारले मन खोलेर कुनै कार्य गरेको छैन । खेलकुदलाई सौताको व्यवहार गर्दै आएको सरकारले हिजो पनि खेलकुदको विकासको लागि केही गरेको थिएन भने अहिले पनि केही गरेको छैन । तर, खेलकुदको विकास र विस्तारका लागि अरूले गरेका कार्यहरूमा प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेता र कार्यकर्ताले मुस्कुराउँदै लाजै नमानी ताली बजाएर नकचरो भूमिका निभाउन भने कहिल्यै पछि परेका छैनन् ।

गत साता यस्तै परिदृश्यले पुरानो घटनालाई ताजा बनाएको छ । यस्तो दृश्य धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि जग्गाको लागि भएको सम्झौता र रंगशाला निर्माण घोषणा कार्यक्रममा देखिएको हो । सो कार्यक्रमको प्रमुख अतिथिको प्रधानमन्त्री केपी शर्मा ओली थिए भने अथितिको रूपमा नेकपाका दुई अध्यक्षमध्येका एक पुष्पकमल दाहाल (प्रचण्ड) लगायत मन्त्रीहरू र खेलकुद पदाधिकारी उपस्थित थिए ।

कार्यक्रमले प्रधानमन्त्री ओलीको दुईतिहाइको सरकारलाई चुनौती दिए पनि प्रधानमन्त्री ओलीले त्यसलाई बेवास्ता गरेका थिए । रंगशालाको निर्माण सरकारको दायित्व र जिम्मेवारीमा पर्ने भए पनि एउटा व्यक्तिले चन्दा उठाएर दुईतिहाइको सरकारमाथि धावा बोल्दासमेत प्रधानमन्त्री ओलीमाथि कुनै किसिमको लज्जाबोध देखिएन । अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउनुपर्छ र त्यो सरकारको दायित्व र जिम्मेवारीभित्र पर्छ । तर, यहाँ प्रधानमन्त्री ओली जुन रूपमा प्रस्तुत भए र नकचरो भूमिका देखिए त्यो आफैँमा बिर्सनलायक थियो । सरकारले गर्नुपर्ने कार्य एक व्यक्तिले गर्ने आँट साहस देखाउँदा लज्जाबोध हुनुपर्नेमा उल्टै ताली बजाएर स्वागत गर्नु र रंगशाला निर्माण गर्ने व्यक्तिलाई चुनौतीपूर्ण र निराशावादी अभिव्यक्ति दिनुले अहिले प्रधानमन्त्री ओलीको निकै आलोचना भएको छ ।

देशलाई समृद्धिको उपल्लो पाटोमा पु¥याउने प्रतिबद्धता जाहेर गर्दै आएका प्रधानमन्त्री ओलीले कार्यक्रममा रंगशालाको निर्माणको लागि अरूले प्रदान गरेको रकमको हिसाबकिताब राख्दै जोडघटाउको नतिजा निकाले पनि आफूले अर्थात् सरकारले रंगशालाको निर्माणको लागि कति रकम दिने त्यसबारे भने ‘चुँ’समेत गरेनन् । मुलुकमा वर्षेनी अर्बौंको भ्रष्टाचार हुन्छ, अर्बौं रुपैयाँ फ्रिज भएर जान्छ, तर त्यसको सानो अंश क्रिकेट रंगशालाको निर्माणमा दिन्छु भनेर प्रधानमन्त्री ओलीले किन भन्न सकेनन् त्यसमा ठूलै रहस्यको गन्ध आएको छ । प्रधानमन्त्रीको यस्तो रवैयाले सरकार खेलकुदप्रति कति चिन्तित छ त्यसलाई प्रस्ट पारेको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तली फाउन्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा गर्दा पैसा नभएको व्यक्तिले कसरी यस्तो आँट र साहस देखायो भनेर प्रश्नसमेत गरेका छन् । रंगशाला बन्नु खुसीको कुरा हो, त्यसको नेपालमा आवश्यकता पनि छ, तर बजेट निकै ठूलो छ, खातामा पैसा छैन कसरी बनाउने हो । प्रधानमन्त्रीले उल्टै शङ्का व्यक्त गर्नु रंगशालाको निर्माणमा नकारात्मक सन्देश गएको छ । क्रिकेट रंगशालाको निर्माणमा प्रश्नमाथि प्रश्न उठाएर नराम्रोसँग खुइल्याउनसम्म खुइल्याइसकेपछि आफू खेलकुदप्रेमी र खेलकुदलाई नजिकवाट बुझेको व्यक्तिको रूपमा भने प्रधानमन्त्रीले आफूलाई प्रस्तुत गर्न सफल भएका छन् । प्रधानमन्त्री ओलीले आफू पवित्र र राम्रो कामको लागि सहयोगी भूमिका खेल्न सधैँ तत्पर रहेको बताएका छन् ।

यतिबेला प्रधानमन्त्री ओलीले चाहेमा जे पनि गर्न सक्छन्, चितवनमा मात्र नभई सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका मल्टिपल स्टेडियमहरूको निर्माण गर्न सक्छन् । यसर्थमा कि उनी दुईतिहाइ सरकारको प्रधानमन्त्री हुन् । तर, विडम्बना ! राज्य ढुकुटी राम्रो कार्यको लागि खर्च गर्ने आँट र साहस प्रधानमन्त्री ओलीको छैन । यदि भएको भए स्वदेश र विदेशमा बस्ने नेपालीको मुख ताकेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण गर्ने सपना देखेर आँट र साहस जुटाएका धुर्मुसमाथि प्रधानमन्त्रीले कदापि विश्वास गर्ने थिएनन् । तिमीले पहल गऱ्यौ, त्यसको लागि धुर्मुसलाई धन्यवाद दिँदै राज्यले नै बनाउने घोषणा गर्ने थिए होला । तर, प्रधानमन्त्री ओलीले त्यस्तो केही गरेनन्, उल्टै देश विकास र निर्माणको ठेकेदारको रूपमा धुर्मुसलाई प्रस्तुत गरेर खेलकुदको हुर्मत लिने कार्य गरे । जुन अहिले खेलकुदको लागि समेत ठूलो दुर्भाग्य बनेको छ । यसर्थमा कि दुईतिहाइको सरकारको प्रधानमन्त्री खेलकुदको लागि निरीह साबित भएको छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै जाँदासमेत अहिलेसम्म आयोजना र भौतिक पूर्वाधार निर्माणको लागि बजेट उपलब्ध नगराएको ओली सरकारबाट धुर्मुसले कुनै किसिमको पनि रकमको आशा राख्नु मूर्खता हुनेछ । किनभने राष्ट्रिय प्रतियोगिता भनेको खेलकुदको मेरुडण्ड हो, जसको आयोजनाबिना खेलाडीहरूको उत्पादनको कल्पनासमेत गर्न सकिँदैन । त्यस्तो प्रतियोगिताको आयोजनाको लागि आनाकानी गर्ने सरकारका प्रधानमन्त्री ओलीले व्यक्तिगत रूपमा धुर्मुसले गर्न लागेको कार्यप्रति औँला उठाउनु स्वाभाविकै थियो । त्यस्तै राष्ट्रिय प्रतिष्ठा गाँसिएको नेपाल आयोजना हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताबारे समेत अहिलेसम्म सरकारले कुनै सम्बोधन गरेको छैन । प्रतियोगिताको मिति ६ महिनापछि सारेको सरकारले अहिलेसम्म १३औँ आयोजनाबारे कुनै औपचारिक निर्णय गरेको छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भरतपुर–१६ मा रहेको जग्गा त्रिभुवन विश्वविद्यालयको स्वामित्व र कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । पछि रंगशाला बनाउने भएपछि भरतपुर महानगरपालिकाले अहिले उक्त जग्गा धुर्मुस सुन्तली फाउन्डेसनलाई उपलब्ध गराएको हो । उक्त जग्गा २० बिघा ८ कट्ठासम्म फैलिएको छ । निर्माणमा ३ अर्ब खर्च हुने अनुमान गरिएको उक्त रंगशालामा ३० हजार दर्शक अटाउनेछन् । यो रंगशाला आईसीसीको मापडण्ड र नेपाली मौलिकताले भरिपूर्ण हुने फाउन्डेसनका प्रमुख धुर्मुसले बताएका छन् ।

६ महिनाभित्र डीपीआर तयार पारी रंगशालको निर्माण कार्य अगाडि बढ्नेछ । रंगशालाको निर्माणको लागि सम्पूर्ण आर्थिक सहयोग स्वदेश र विदेशमा बस्ने नेपालीहरूबाट जुटाउने फाउन्डेसनको योजना रहेको छ । रंगशालाको सम्पूर्ण खर्च स्वदेश र विदेशमा बस्ने नेपालीबाट जुटाउने योजनासाथ अगाडि बढेका धुर्मुसका लागि यो कार्य कदापि सहज हुनेछैन । आशा गर्न सकिन्छ त्यो आफ्नो ठाउँ छ । अर्को तीतो सत्यलाई यहाँ कदापि नकार्न सकिँदैन । ३ अर्ब रुपैयाँ चानचुने रकमचाहिँ पक्कै होइन, यो कुरा धुर्मुसले बुझ्नु आवश्यक छ ।

Loading...