यसरी पारासुटबाट सेनाका हवल्दार सीधै भुइँमा बजारिए

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २१ फागुन ।

सेना दिवसका क्रममा राजधानीको टुँडीखेलमा आयोजित विशेष कार्यक्रमका क्रममा एकजना सेनाका हवल्दार पारासुट नखुल्दा सीधै भुइँमा खसेका छन् ।

फ्री फल जम्पमा सहभागी सेनाका हवल्दार पूर्णबहादुर भण्डारी पारासुट नखुल्दा दुर्घटनामा परेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारका उच्च पदस्थ अधिकारी उपस्थित कार्यक्रममा टुँडीखेलमा झर्ने क्रममा पारासुट नखुलेपछि उनी दुर्घटनामा परे ।

फ्री फल जम्का क्रममा पारासुट नखुलेपछि उनी सीधै भुइँमा झरेर घाइते भएका थिए । दायाँ खुट्टामा गम्भीर चोट लागेका उनको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्दै ‘सेना दिवस-२०७५’ लेखिएको ब्यानर पनि प्रदर्शन गरेको थियो ।

सेना दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको लोकार्पणकासाथै ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी प्रकाश खड्का र दोस्रो हुने सेनानी धीरन अधिकारीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिन् ।स्रोत :अन्नपूर्णपोष्ट

Loading...